बालकोटबाट नदेखिएको ओलीका सहकर्मीको फुसको घर


मनिषा चम्लागाईं
31 July, 2022 3:06 pm

सँगसँगै झापा आन्दोलनमा होमिएका केपी शर्मा ओली दुईपटक प्रधानमन्त्री भइसके । सहकर्मी सीपी मैनाली र राधाकृष्ण मैनाली पनि मन्त्री बनिसके, तर सँगै जेल बसेका सहयोद्धा झापाका ७६ वर्षीय मानबहादुर तामाङको अवस्था चाहिँ पाँच दशक अघिभन्दा तात्विक फरक छैन ।

उनको सधैँ गुनासो हुन्थ्यो, ‘सँगै राजनीतिमा लागेका धेरै नेताले लाभ लिए तर मलाई कसैले हेरेन ।’ उनलाई ओलीहरूसँगै झापा आन्दोलनका बेला हत्या आरोपमा १७ वर्ष ७ महिना ७ दिन जेल राखिएको थियो । एकै आरोपमा पक्राउ परेका पाँच जना सुखानीमा शहीद भएका थिए ।

भाग्यले बाँचेका एमालेका अध्यक्ष ओली र तामाङ त्यसबेलाका हितैषी थिए । त्यति मात्र होइन, केही समय तामाङले ओलीका अंगरक्षकका रूपमा पनि काम गरे । ठाउँठाउँमा ओलीलाई लुकाउन पनि उनको महत्वपूर्ण भूमिका रह्यो ।

२०४६ सालको आन्दोलनपछि संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थापछि ओलीको राजनीतिक उचाइ बढ्दै गयो, मानकुमार जहाँको त्यही रहे । उनी भेट हुनेजतिलाई भनिरहन्थे, ‘मर्नु अघि ओलीलाई भेट्न मन छ ।’ सँगैका साथीहरूले राजनीतिक उचाइ लिइरहँदा तामाङ चाहिँ आर्थिक अभावकै कारण सक्रिय राजनीतिमा अघि बढ्न सकेनन् ।

झापा विद्रोहमा लागेर कठोर जेल जीवन बिताएका तामाङले अहिलेसम्म एउटा घर पनि बनाउन सकेका थिएनन् । २०७८ वैशाखको दोस्रो हप्ता उनै तामाङको विषयलाई लिएर लेखक तथा पत्रकार कुमार भट्टराईले मलाई फोन गर्नुभयो ।

कुमार दाइले सामान्य औपचारिकतापछि ‘एउटा पुण्यको काम गरौं भनेर तिमीलाई पनि सम्झिएको’ भन्दै तामाङलाई सहयोग गर्ने योजना सुनाउनुभयो ।

दाइले भन्नु भएको थियो, ‘अर्जुनधारा नगरपालिकामा २०२८÷२०२९ को झापा विद्रोहमा लागेर १७ वर्ष कठोर जेल जीवन बिताएका मानकुमार तामाङको घामपानी छेक्न सक्ने घर छैन, केही पत्रकार साथीहरू र स्थानीय मिलेर घर बनाउने योजना छ ।’

दाइले घर निर्माणको योजना बनाइसक्नु भएको रहेछ, तामाङको अवस्थाबारे सुनाउनु भयो । उहाँको योजनामा हैंसेमा होस्टेको भागिदार बन्न पाउने अवसर आउँदा मैले नकार्ने कुरै थिएन ।

हामीले घर बनाउने सल्लाह गरेको ६ महिना पछि २०७८ साल कात्तिक १८ गते लक्ष्मीपूजाका दिन तामाङको घर शिलान्यास भयो । लक्ष्मीपुजाका दिन जोकोहीलाई घरमा पनि फुर्सद हुन्न ।

तर म चाहिँ सबै कामधन्दा बिर्सिएर झापा र इलामको सीमावर्ती बस्तीमा पर्ने मानकुमारको घर शिलान्यास कार्यक्रममा जाने तरखरमा लागेँ । उनको पीडा पहिले पनि सुनिसकेकाले मलाई त्योभन्दा पुण्यको काम अरु हुन सक्दैन भन्ने लागेको थियो ।
मेरो घर झापाको अर्जुनधारा नगरपालिका–५ मा पर्छ । त्यहाँबाट करिब ११ किलोमिटर उत्तरतर्फ लागेपछि अर्जुनधारा–१, सिस्ने सालबन्दीमा झापा आन्दोलनका योद्धा मानकुमारको घर थियो । त्यसबेलाको दृश्य मलाई अझै याद छ, काठको सानो टाँडे घर जीर्ण भइसकेको थियो । घरका बेरा भत्कन थालिसकेका थिए ।

केही दिनअघि आएको हावाले शौचालयको छानो उडाइदिएको थियो । मानकुमार शिलान्यास कार्यक्रममा आउनेहरूलाई विद्रोहका दिनतिर लगिरहेका थिए । उनको कुरा सुनेर जोकोहीलाई तिनै दिनतिर पुगेझैँ आभास हुन्थ्यो । उनकी श्रीमति घरको पछाडितिर कुनामा रहेको भान्सामा बसिरहेकी थिइन् ।

उनले भनिन्, ‘यही घरमा रात बिताउन गाह्रो भयो, धमिराले खाइसकेको घर टालटुल गर्दै बस्दै आएका छौँ । त्यसमाथि श्रीमान् बेलाबेला बिरामी परिरहन्छन् । मलाई पनि मुटु रोग छ । उपचार गर्ने खर्च छैन ।’

तामाङको घरमा पुग्दा राजनीतिक परिवर्तनका लागि आफ्नो जवानी खर्च गर्ने योद्धासम्म सरकारको नजर नपुगेको महसुस भएको थियो ।

शारीरिक रूपमा अशक्त बन्दै गएका तामाङलाई पछिल्लो समय निराश देखिन्थे । कसैले सहयोग नगरेको प्रति दुखेसो भए पनि उनीहरूका आवाज बलियो थिएनन् ।

तर हाम्रो टोली पुगेपछि उनीहरूमा ऊर्जा थपिएकोे थियो । केही हुन्छ कि भन्ने आशा पलाएको थियो । घर पाउने आशामा ६५ वर्षीया तामाङकी श्रीमती पनि केही खुशी देखिन्थिन् । घर शिलान्यास कार्यक्रममा तत्कालीन नगरप्रमुख हरिकुमार रानासहित स्थानीयको उपस्थिति थियो ।

२०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले राजनीतिक पीडितका लागि केही राहत रकम उपलब्ध गराएको थियो ।

सोहीसमयमा तामाङले ७० हजार रूपैयाँ राहत पाए, त्यही बेला सिस्नेमा पाँच कठ्ठा ऐलानी जग्गा किनेर काठको घर बनाएर बसेका रहेछन् उनी ।

त्यस समयमा गाउँमा सबैका घर फुसका थिए, उनको मात्र काठको थियो । अहिले पूरै गाउँमा पक्की घर हुँदा उनी चाहिँ जहाँको त्यहीँ थिए । समयले उनको शरीरलाई पनि बुढ्यौलीमा लगेको थियो भने घर पनि घमिराले खाएर जरजर पारिसकेको थियो ।
‘सामन्तीलाई समाप्त पारेपछि सबैका सुखका दिन आउँछन् भन्ने सोचेर देश बनाउन हिँडिएको थियो, तर देशमा सामन्ती के सकिनु !’ उनी भन्छन्, ‘न देशका सामन्ती सकिए, न आफ्ना लागि एउटा टहरो बनाउन सकियो ।’

जेल परेपछि कठोर यातना भोगे । जेलमै रहँदा जेठी श्रीमतीलाई क्यान्सर भयो । त्यहीँ उनले ज्यान गुमाइन्, जेठी श्रीमतीको मृत्युपछि एक छोरा र दुई छोरीको बिचल्ली भयो । कान्छी फुलमायापट्टि एक छोरा र एक छोरी भए । दुई वर्ष अघि छोरीको पनि निधन भयो । काम गर्न ७ वर्ष अघि भारतको कोइलाखानी गएका छोराको अत्तोपत्तो छैन ।

झापा विद्रोहको नेतृत्व गरेका सिपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतम लगायतका नेता उनका सहयोद्धा हुन् । उनीहरूकै नीति निर्देशनमा रहेर तामाङले ‘वर्गशत्रु खतम अभियान’ चलाए । कमाउने उमेर कम्युनिष्ट पार्टी निर्माणमा खर्चेका उनीसँग आनन्दले रात बिताउन पाउने घर पनि भएन, अझ भनौँँ उनी सुकुम्बासीसरह बने ।

तामाङको दयनीय स्थिति देखेरै घर बनाइदिने निर्णाय गरेको कुमार दाइले सुनाउनु भयो । ‘अठाइस साल’ नामक किताब लेखनका लागि तामाङलाई खोज्दै पहिलो पटक उनको घर पुगेदेखि नै घर बनाइदिने हुटहुटी कुमार दाइमा रहेछ ।

‘किताब लेखनका लागि तामाङलाई भेट्न उनको घर आएँ । त्यही समयमा हावाहुरी र पानी आयो । तामाङ दम्पत्ति घरको एक कुनाबाट अर्को कुना सामान ओसारपसार गर्न थालेका थिए’ कुमार दाइ भन्नुहुन्छ, ‘देश परिवर्तनका लागि लामो समय लागेका योद्धाको पीडादायी अवस्था देखेपछि घर निर्माण अभियान सुरु गर्ने अठोट लिएको थिएँ ।’

राजनीतिक परिवर्तनमा ऊर्जाशील समय खर्च गरेका तामाङलाई पक्की घरमा बस्न पाउँछु भन्ने आशा मरिसकेको रहेछ । वृद्ध शरीरको कमाइले छाक टार्न धौधौ हुने भएकाले भत्केको घर टालटुल गर्न सकेका रहेनछन् ।

छरछिमेकीसँग बाँस मागेर कातेको चोयाबाट डोको, नाङ्लो बुनेर गाउँमा बिक्री गरी बिहान बेलुकाको हातमुख जोड्दै आएका छन्, तामाङ दम्पत्ति । राजनीतिमा लागेर घर न घाटको बनेका मानकुमारले बनाएको जगमा उभिएर मुलुकमा शासन गरिरहेको कम्युनिष्टले जग निर्माणकर्ताको दुःख भने नदेखेको उनको दुखेसो थियो ।

तर अहिले झापाका हामी पत्रकारले मिलेर गुरूपूर्णिमाको अवसर पारेर तामाङ दम्पत्तिका लागि टिनको छानो भएको एक तले पक्की घर हस्तान्तरण गरिदिएका छौं । उमेरले उत्तारार्द्ध पुगिसकेको बेलामा भए पनि पक्की घर पाएपछि तामाङ दम्पत्ति कार्यक्रममा भावविह्वल बने ।

घर निर्माणमा १० लाख रूपैयाँ खर्च भएको छ । त्यसमा डेढ लाख रूपैयाँ ऋण रहेको छ । घरमा आवश्यक अन्य सामानसमेत पर्याप्त नरहेकाले हाम्रो टिम जुटाउन लागि परेको छ ।

झापा आन्दोलनका अगुवा तामाङलाई गाँस, बास र कपासका लागि प्रताडित बन्नु परेको देख्दा स्वतः स्फूर्त जिन्सी तथा नगद सहयोग गर्ने दाता धन्यवादका पात्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्