देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


Bazar Dainik
9 July, 2022 7:32 am

झापा, असार २५ । मनसुन भित्रिएयता दैनिक वर्षा हुने क्रम जारी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार शनिबार पनि पश्चिमी क्षेत्रका चारवटा प्रदेशमा वर्षा भइरहेको छ ।

‘अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ’, उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाको बुलेटिनअनुसार आज राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

‘हिजो राति अलि बढी वर्षा भयो र आज दिनभर पनि भारी वर्षाको सम्भावना छ’, मौसमविद् भट्टराईले भने, ‘भरे (आज राति) बाट भने वर्षा अलि घट्ने सम्भावना देखिएको छ ।’ महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी , था परामर्श जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्