बहुमतले प्रदेश –१ को बजेट पारित


Bazar Dainik
3 July, 2022 3:06 pm

झापा, असार १९ । प्रदेश –१ को आर्थिक वर्ष २०७९⁄८० को बजेट आइतबार प्रदेशसभाको बहुमतबाट पारित भएको छ । प्रदेश सभामा मुख्य विपक्षी एमालेका सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेपछि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले संसदमा निर्णयार्थ पेश गर्दा बजेट बहुमतले पारित भएको हो ।

प्रदेश –१ संसद्को पहिलो कार्यकालको अन्तिम बजेट गठबन्धन सरकारले ल्याएको हो । यसअघि नेकपा र एमालेको एकल बहुमतको सरकार रहेको प्रदेशमा यसपटकको बजेट पाँच दलीय गठबन्धन सरकारले ल्याएको थियो । सरकारले ल्याएको बजेटलाई एमालेले भने विरोध गर्दै आएको थियो ।

सरकारले आर्थिक वर्ष २०७९ ⁄८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट असार १ मा संसदमा प्रस्तुत गरेको थियो । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।

बजेटको अनुमानित स्रोत प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान छ ।

राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बताएका छन् ।

चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको सरकारले करिब २१ प्रतिशत वृद्धि गरेर नयाँ बजेट ल्याएको थियो ।

यसपटकको बजेटमार्फत् प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । उत्पादनमा आधारित अनुदान सोझै किसानलाई दिने कार्यक्रम अघि सारेको सरकारले आगामी आर्थिक वर्षदेखि दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

दूध उत्पादक किसानलाई अनुदान दिँदा दैनिक २ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान पनि सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्