दमकमा सहुलियत कार्ड मार्फत् शिक्षा, स्वास्थ्य र खाद्यान्नमा छुट


Bazar Dainik
25 June, 2022 7:01 am

झापा, असार ११ । दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागी १ अर्व ६३ करोड ४० लाख ४० हजार रुपैँयाको बजेट नगरसभामा पेश गरेको छ । नगर उप प्रमुख रेगिना भट्टराईले आजको नगरसभामा ५१ प्रतिशत चालु खर्चमा र ४९ प्रतिशत पुँजिगत खर्च सहितको बजेट प्रस्तुत गरे ।

आगामी आर्थिक वर्षको बजेटसहित निति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्दै नगर उपप्रमुख भट्टराईले यस पटक केहि लोकप्रिय कार्यक्रम समाबेस गरेको बताएकी छन् । एक वर्षमा १ हजार विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गराउने, अति विपन्न नागरिकको स्वास्थ्य बिमा गर्नका लागि ‘‘तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी’’कार्यक्रम सञ्चालन गरिने, गरिबी न्युनिकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराइने, कार्ड मार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने लगायतका लोकप्रिय कार्यक्रमलाई निति तथा कार्यक्रममा समाबेस गरिएको छ ।

झापाको दमक नगरपालिका । तस्बिर : बजार दैनिक ।

त्यसैगरी असहाय नागरिकको जिवन रक्षाका लागी “सबैका लागि सबै, कोहि एक्लो छैन” कार्यक्रम, महिलालाई स्वरोजगार बनाउन “दमकका नारी विकासमा बराबरी’’ कार्यक्रम सञ्चालन, ७५ वर्ष माथिका नागरिकको घरमै स्वास्थ्य परिक्षण गर्ने, दमक नगरभित्रका सुत्केरी, ५ वर्षमुनिका बालबालिकालाई रगत चढाउनु परेमा ल्याब परीक्षण गरेबापत लाग्ने रकमलाई शोधभर्ना गरी निःशुल्क गरिने, सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविकाले यस अघि पाउँदै आएको एकमुष्ट ६० हजार रुपैयाँ रकम बढाएर ८० हजार रुपैयाँ पु¥याउने लगायतको जनमुखि र लोकप्रिय कार्यक्रम यस पटको बजेटमा समावेस गरिएको निति तथा कर्याक्रम नगर उप प्रमुख भट्टराईले सार्वजनिक गरिन् ।

जेटले नगरपालिकाको सुशासन, आर्थिक समृद्धि, लैङ्गीक समानता, समावेशिकरण, सन्तुलित र दिगो पूर्वाधार विकासको परिकल्पना गरेको छ । प्रस्तुत, निति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गते सम्ममा नगर प्रमुखलाई सुझाव पेश गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौँ नगरसभाको दोस्रो बैठक असार २७ गते बस्ने नगर प्रमुख राम कुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्