बिर्तामोडको बजेट १ अर्ब ३८ करोड, प्राथमिकतामा स्वास्थ्य, शिक्षा र कृषि
बिर्तामोड असार १० । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० बराबरको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त बजेट प्रस्ताव गरेका हुन् ।
बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँड बाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदान बाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०,यसै गरि यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुनेछ भने संघीय शसर्त अनुदान चालु तर्फ २६ करोड ७१ लाख तथा पुँजीगत तर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण सभामा प्रस्ताव गरिएको हो ।
चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशुविकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्ग, पुँजीगत तर्फ बहुवर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशुविकास, तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत सम्भार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरी बजेट प्रस्ताव गरीएको उपप्रमुख संग्रौलाले बताए ।
चालु आर्थिक वर्ष २०७८/०७९ को कुल वार्षिक बजेट १ अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएको थियो । जस अनुसार आर्थिक वर्ष ०७८/०७९ को बैशाख मसान्तसम्मको आय तर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्यय मध्ये चालु तर्फ ३३ करोड ४० लाख ८५ हजार र पुजीगत तर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ हजार व्यय भएको आय–व्यय विवरण समेत प्रस्तुत गरीएको छ ।
नगरसभामा विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य शर्मिला राजवंशीले सहकारी विधेयक, नगरशिक्षा विधेयक र कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक पेश गरिएको छ । उक्त विधेयक माथि असार २२ गते बस्ने सभामा छलफल गर्ने नगरप्रमुख प्रसाईले जानकारी दिइन् ।
अधिवेशनमा नगरप्रमख प्रसाईले आगामि आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नगरले यस वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, वन वातावरण तथा विपद् व्यवस्थापन, कृषि पशुपालन, पशुपंछि, उद्योग, व्यापार, व्यवसाय, श्रम तथा रोजगार, सहकारी, यातायात तथा पुर्वाधार निर्माण, युवा तथा खेलकुद, कला, साहित्य, भाषा, धर्म, संगीत, संस्कृति, सभ्यता, सामाजिक सुरक्षा, लक्षित समुह, विज्ञान प्रविधि, सूचना सञ्चार, सुशासन, राजश्व तथा वित्तिय श्रोत परिचालन लगायत विविध शिर्षकमा लोकप्रिय कार्यक्रमहरु समावेश गरेको छ ।
अधिवेशनमा प्रदेश सांसद एकराज कार्की र जसमाया गजमेरको आतिथ्यता रहेको थियो । ‘उद्योग, व्यापार, कृषि, शिक्षा,स्वास्थ्य र रोजगारमा अभिबृद्धि’ बिर्तामोड नगरको विकास र सुशासन सहितको सम्बृद्धि’ को मूल भिजन सहित बिर्तामोड नगरपालिका अगाडि बढेको छ ।