बुटवलमा सञ्चालित चियाको प्रदर्शनी तथा टि टेस्टिङ आज सकिँदै


Bazar Dainik
18 June, 2022 10:40 am

झापा, असार ४ । स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम चलिरहेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको कार्याक्रम शनिबारसम्म चल्ने छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरू भएको प्रदर्शनीमा देशभरिका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफूले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै प्रदर्शनीको उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एसोसिएसन नेपाल, नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टि एसोसिएसन नेपालमा आवद्ध एक सय बढी व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरू राखिएका छन् । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन समेत तयार रहेको बताए ।

‘बजार प्रवर्द्धनमात्र भनेर पुग्दैन, आन्तरिक उत्पादन पनि बढाउनुपर्छ, तपाईंहरू उत्पादनको योजना लिएर आउनुस्, लुम्बिनी प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा जग्गा उपलब्ध गराउन तयार छ’,उनले भने । लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादनमात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले विदेशी उत्पादन निरूत्साहित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले व्यवसायीहरूलाई लुम्बिनी प्रदेशको गुल्मी लगायतका जिल्लामा उत्पादित कफीको प्रवर्द्धन र बजारीकरण गरिदिन आग्रह समेत गरे । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया निर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले स्वदेशी उत्पादनको प्रयोगलाई बढाउन, स्वदेशी चियाको आम उपभोक्तामाझ जनचेतना जगाउन र आम नेपालीमा स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नका लागि पनि यो प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गर ।

प्रतिक्रिया दिनुहोस्