बिर्तामोड महालक्ष्मी विकास बैंकद्वारा पुस्तक वितरण


Bazar Dainik
17 June, 2022 10:53 am

बिर्तामोड । महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाले झापाको बिर्तामोड वडा नं.३ बिर्ताबजारमा रहेको अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक बितरण गरेको छ ।

बैंकको २८ औं वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाले अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक बितरण गरेको बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडाले जानकारी दिए ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम संचालन गर्दै आइरहेकोमा बिर्तामोड शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरेको उनले बताए । उनले आगामी दिनहरुमा बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्ने बताए ।

अनारमनी पब्लिक क्याम्पसमा बीबीएस संकायमा अध्ययनरत् विद्यार्थीलाई लक्षित गरी बीबीएस संकायका विषयगत पुस्तक वितरण गरिएको उनले बताए ।

अनारमनी पब्लिक क्याम्पसमा रहेको पुस्तकालयमा पर्याप्त पुस्तक नरहेको अवस्थामा आफूहरुले प्रदान गरेको पुस्तकले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पढाईमा थप हौसला र प्रेरणा मिल्ने उनले बताए ।

अनारमनी पब्लिक क्याम्पसमा बीबीएस संकायका विभिन्न बिषयका ५० हजार मूल्य बराबरका ९७ थान पुस्तक प्रदान गरिएको महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाकी अप्रेसन ईञ्चार्ज वनिता पोखरेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्