वैदेशिक रोजगारीले महिला तथा बालबालिकामाथि पारेको असर


मनिषा चम्लागाईं
7 June, 2022 8:33 am

काठमाडौँ, जेठ २४ । स्वदेशमा पर्याप्त रोजगारी उपलब्ध हुन नसक्दा दैनिक सयौंको संख्यामा नेपाली युवा युवती विदेश जाने गरेका छन् । विदेशमा दुःख गरेर कमाएको पैसा पठाएर कतिपयको घर परिवार धानिएको छ । नेपालको अर्थतन्त्रमा विदेशमा नेपालीले कमाएर पठाउने गरेको रेमिट्यान्सको उल्लेख्य हिस्सा रहँदै आएको छ ।

यस्ता अवस्था रहे पनि वैदेशिक रोजगारीका कारण त्यसरी जानेहरुका परिवारमा भने सकारात्मक साथै नकारात्मक असर पनि परिरहेको पाइन्छ । कतिपय घटनाहरु अध्ययन गर्दा यसको असर समाजमा विकृतिजन्य क्रियाकलाप पनि देखिने गरेको छ ।

विदेशबाट आएको रकम सदुपयोग गरेर कतिपयले व्यवसाय गरिरहेका छन् । व्यवसायबाट आम्दानी थपेर घर परिवार धानेका छन् । यसैगरी आफ्ना बालबालिकालाई राम्रो शिक्षादीक्षा पनि दिएका छन् ।
०००
इलामको बाँझो घर भएका ४३ वर्षीय दिनेश सिग्देल पाँच वर्षअघि श्रीमती अनिता केसीलाई विराटनगर–३, पिपलचोकमा छाडेर रोजगारीका लागि मलेसिया गए । पहिलो श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि १० वर्षअघि दोस्रो विवाह गर्दै केसीलाई भित्र्याएका थिए । कान्छी श्रीमती ल्याएपछि परिवारसँग राम्रो सम्बन्ध भएन । त्यसपछि रोजगारीका लागि मलेसिया गए । त्यहाँ राम्रो कमाइ हुन सकेन । अनि बहराइनतिर लागे ।

विदेशमा कमाएको पैसा बिराटनगरमा रहेकी कान्छी श्रीमतीलाई पठाउँथे । उनीबाट एउटा छोरी जन्मिएकी थिइन् । सम्बन्ध ठिकठाकसँगै चलिरहेको थियो । पछिल्लो एक वर्षदेखि भने श्रीमतीसँग उनको कुराकानी पातलिँदै गएको थियो । सिग्देल काममा व्यस्त भए । समय हुँदा पनि श्रीमती राम्रोसँग बोलिनन् । यसले सिग्देल दम्पतिको सम्बन्धमा खटपट ल्याइरहेको थियो । केही महिनादेखि सिग्देलले श्रीमतीप्रति शंका गर्न थालेका थिए ।

बिराटनगरका २९ वर्षीय सरोज भण्डारीसँग श्रीमतीको सम्बन्ध ‘शंकास्पद’ लागेपछि कम्पनीसँग ‘जरुरी विदा’ माग्दै उनी २० पुसमा बहराइनबाट नेपाल आए । साथीसँग सापटी लिएको ६० हजार रुपैयाँ बोकेर श्रीमतीसँग कुरा गर्न भन्दै आएका उनै सिग्देलको शव ५ फागुन २०७८ मा धरान–भेडेटार सडक खण्ड नजिकै रहेको जंगलमा भेटियो ।

एउटा जेब्रा झोलाभित्र उनको टाउको र अर्को झोलामा शरीर थियो । अनुसन्धानका क्रममा कान्छी श्रीमती केसीको योजनामा प्रेमी २९ वर्षीय सरोज भण्डारीले बिराटनगरमा उनको हत्या गरेर धरानमा शव व्यवस्थापन गर्न खाजेको देखिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख सञ्जयसिंह थापा बताउँछन् ।

‘बिराटनगर गएर एकदिन श्रीमान्–श्रीमती होटलमा सँगै बसेको देखिन्छ, अर्को दिन घर जानेबित्तिकै विवाद भएको छ’ उनले भने, ‘त्यसबीच फोन गरेर केसीले प्रेमी भण्डारीलाई बोलाएकी छन् र गल्बन्दीले कसेर हत्या गरेको देखिएको छ ।’ इलाका प्रहरी कार्यालय, धरानका डीएसपी नरेन्द्र कुँवर यो वीभत्स घटनाको कारक वैदेशिक रोजगारी र विवाहेत्तर सम्बन्ध रहेको बताउँछन् ।
०००
परिवारका सदस्यले विदेशमा कमाएर पठाएको पैसाले उद्यम गरेर उन्नति गर्नेहरु पनि निकै संख्यामा छन् । यसले गर्दा परिवारको जीवनयापन सहज हुनुका साथै विदेशबाट आएको पैसाको सदुपयोग पनि भएको छ ।

सुनसरीको इनरुवाकी सुष्मा निरौलाले आफ्ना पतिले इराकबाट पठाएको रकमले व्यवसाय गरेकी छन् । चिया चमेना पसल गरेर उनले कमाइ थपिरहेकी छन् । यतिमात्र होइन उनले एक छोरा र एक छोरीलाई विद्यालयमा राम्रो शिक्षा पनि हासिल गराइरहेकी छन् ।

‘विदेशमा पसिना बगाएर कमाएर पठाउनुहुन्छ’ सुष्मा भन्छिन्, ‘त्यसको सदुपयोग गर्न सुरु गरेको व्यवसाय राम्रो चलेको छ, यसबाट नानीहरुलाई राम्रोसँग पढाउन पनि सकिएको छ ।’
०००
झापाको अर्जुनधारा नगरपालिका–६ का ३८ वर्षीय रमेश तामाङ (नाम परिवर्तन) ले २०५६ सालमा रमा (नाम परिवर्तन) सँग विवाह गरे । तामाङ दम्पतिबाट एक छोरा र छोरी जन्मिए ।

सवारी चालकको कामबाट राम्रो आम्दानी भइरहेको थिएन । छोराछोरी बढ्दै गर्दा विद्यालयमा पैसा तिर्नै समस्या भयो । त्यसैले २०७२ सालमा रमेशले साउदी अरब जाने निधो गरे तर पनि पैसा थिएन । स्थानीय सहकारीमा धितो राखेर ऋण लिए र विदेश जाने प्रक्रिया थाले ।

उनी विदेश गएसँगै उनको परिवारको आर्थिक हैसियत केही सुधारियो । विदेश गएको दुई वर्षपछि तामाङले श्रीमती रमा घरमा नभएको खबर पाए । छोराछोरीलाई घरमा छाडेर ‘काठमाडौँ जान्छु’ भन्दै हिँडेकी श्रीमती फर्किइनन् ।

श्रीमतीको खोजी गर्न तामाङ फर्किए । नेपाल आएपछि तामाङले थाहा पाए श्रीमतीले दोस्रो विवाह गरिछन् । विदेश हुँदा कमाएर पठाएको ९ लाख रुपैयाँ, घरमा पालेका ३ माउ गाईँ, भाँडाकुडा, सरसामन पनि उनैले लगिसकेकी थिइन् । रमाले स्थानीय सहकारीबाट समेत लाखौँ ऋण निकालेको पाइएको छ ।

रमेशले अर्जुनधारा नगरपालिकाको न्यायिक समिति उजुरी दिए । तत्कालिन उपमेयर कमला खतिवडाको नेतृत्वमा रहेको समितिले दुवै पक्षको कुरा सुन्यो र रमालाई कागज गरेर पछिल्लो पटक विवाह गरेको व्यक्तिको जिम्मा लगाइदियो । ‘अहिले रमेश छोराछोरीको संरक्षण गरेर अर्जुनधारामै बसिरहेका छन्’ उपमेयर खतिवडाले भनिन् ।
०००
झापाको भद्रपुरका खेमराज खतिवडा ५ वर्षभन्दा बढी मालदिभ्स बसेर फर्किए । होटल व्यवस्थापनको काम गरेर आर्थिक आर्जन गरे । दुई वर्षअघि घर फर्किए । आफूजस्तै विदेश बसेर आएका साथीहरुसँग मिलेर उनले मझौला उद्योग सञ्चालन गरेका छन् ।

साबुन, डिटर्जेन्ट पाउडरजस्ता दैनिक प्रयोगमा आउने सामग्री उत्पादन गर्ने उनीहरुको उद्योग राम्रोसँग चलेको छ । समूहमा रहेका पाँचैजना उद्योगले बिस्तारै प्रगति गर्दै गएकामा उत्साहित छन् ।

अब यसैलाई बिस्तार गर्दै अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना बनाएका खेमराज र उनका साथीहरु अब विदेश नजाने निधोमा पुगेका छन् । खेमराज भन्छन्, ‘केही समय विदेश बसियो, दुःख गरेर अलिअलि कमाइ पनि भयो, अब यतै काम गर्ने भनेर अठोट ग¥यौं, त्यसैअनुसार योजना बनाएर काम गरिरहेका छौं ।’
०००
इलामको इलाम नगरपालिका–८ धोवीधाराकी निर्मला राई (नाम परिवर्तन) रोजगारीका लागि चार वर्षअघि कुवेत गइन् । दुई छोरालाई श्रीमान्को साथमा छोडेर गएकी राई गत वर्ष नेपाल फर्किन् ।

विदेशमा रहँदा उनले कमाएको कुनै पनि हिसाबकिताब श्रीमान् र परिवारलाई देखाइनन् । सुरुमा सम्बन्ध राम्रो थियो, घरमा पैसा पनि पठाउँथिन् । तर केही समयपछि सम्बन्धमा खटपट सुरु भयो । उनले इलाम नगरपालिकाको न्यायिक समितिमा श्रीमान्सँग बस्न नसक्ने भनी निवेदन दिइन् । अंश मागसमेत गरिन् ।

न्यायिक समितिले अंशको मुद्दा नहेर्ने भएकाले फाइल इलाम जिल्ला अदालत पुग्यो । अहिले राई दम्पतिको सम्बन्ध विच्छेद भइसकेको छ । श्रीमान् दुई छोराको पालनपोषण गरेर इलाममै बस्दै आएका छन् भने श्रीमती काठमाडौँमा छिन् ।

०००

गत वर्ष ताप्लेजुङको फुङलिङ नगरपालिकाको न्यायिक समितिमा भने फरक प्रकृतिको उजुरी प¥यो । फुङलिङ वडा नम्बर –२ की १८ वर्षिया सम्झना कार्की (नाम परिवर्तन) ले श्रीमान्लाई वैदेशिक रोजगारीमा जान रोक लगाउन माग गर्दै न्यायिक समितिमा उजुरी दिएको नगरपालिकाका पूर्व उपमेयर बमबहादुर भट्टराई बताउँछन् ।

सम्झनाले १५ वर्षकै उमेरमा स्थानीय जीवन खड्का (नाम परिवर्तन) सँग भागी विवाह गरेकी थिइन् । १७ वर्षको उमेरमा उनले छोरा जन्माइन् । ‘विवाह गरेसँगै पढाइसमेत छाडेकी सम्झनालाई एक्लै छोरोलाई हुर्काउन, बढाउन सक्छु भन्ने हिम्मत भएन’ भट्टराईले भने, ‘त्यसैले उनले पटकपटक श्रीमान्लाई वैदेशिक रोजगारीमा नजान आग्रह गरेकी थिइन्, नमानेपछि उजुरी दिइन् ।’ खड्कालाई भने विदेश जाने र पैसा कमाउने हुटहुटी थियो । न्यायिक समितिले खड्कालाई सम्झाइबुझाइ विदेश जानबाट रोक्यो ।
०००
यी केही प्रतिनिधि उदाहरण हुन् । वैदेशिक रोजगारीका कारण परिवार र समाजमा परेका यस्ता असरहरु धेरै छन् । नकारात्मक असर मात्र होइन सकारात्मक प्रभाव पनि परेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार पछिल्लो समय भएका अधिकांश सामाजिक अपराधमा वैदेशिक रोजगारीका घटना जोडिएका छन् । ‘वैदेशिक रोजगारीले पारिवारिक विग्रह ल्याइरहेको छ, त्यसले परिवारभित्रै हुने अपराधलाई बढाइरहेको छ’ उनी भन्छन्, ‘अहिले घरभित्र हुने अधिकांश अपराधका घटनामा वैदेशिक रोजगारी जोडिएका छन् ।’

उनका अनुसार वैदेशिक रोजागारी ठगी, घरेलु हिंसाजस्ता सामाजिक अपराधमा मात्र जोडिएको छैन, जघन्य अपराध पनि निम्त्याइरहेको छ, धरानमा भएको घटना त्यसैको पछिल्लो उदाहरण हो ।

प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरका अनुसार पनि आर्थिक वर्ष २०७७/७८ मा मात्रै प्रदेश १ मा ३६ जना श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना भएका छन् । दुईजना महिला श्रीमान्को हत्या अभियोगमा पक्राउ परेका छन् । ती घटनाहरु पनि वैदेशिक रोजगारीसँगै जोडिएका छन् ।

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीका अनुसार विदेश गएकामध्ये अधिकांश विवाहितको घरमा समस्या देखिएकै छ । ‘कोही सामाजिक कारणले त्यसलाई दबाएरै राख्छन् भने थोरैमात्र सार्वजनिक हुन्छन्’ उनले भने, ‘कतिपय चाहिँ अपराधमा परिणत भएका छन् ।’

अधिवक्ता टिकाप्रसाद कडेँलको बुझाइमा वैदेशिक रोजगारीले सम्बन्ध विच्छेदको घटना बढाएको छ । ‘केटा विवाह गर्नकै लागि विदेशबाट आउने वा विवाह गरेर केही दिनमा नै विदेश जाने चलन छ’ उनले भने, ‘एकअर्कालाई राम्रोसँग नबुझी वैवाहिक सम्बन्धमा बाँधिने र नबुझी छुट्टिने प्रवृत्ति देखिएको छ ।’

उनको बुझाइमा विवाह गरेपछि कम्तीमा पनि निश्चित समय श्रीमान्–श्रीमती सँगै नबस्ने हो भने यो सामाजिक समस्या अझै बढेर जान्छ । ‘मेरो राय त विवाह गरिसकेपछि श्रीमान् श्रीमती कम्तीमा पनि ६ महिना सँगै बस्नुपर्ने कानुन बनाउनुपर्छ भन्ने हो’ कडेँल भन्छन्, ‘त्यति भए यो अवधिमा उनीहरुले एक अर्कालाई बुझ्ने मौका पाउँछन् ।’

पूर्वडीआईजी ठकुरीको भनाइमा खाडी मुलुक जानेहरु अधिकांशको कमाइ पनि त्यति धेरै भएको हुँदैन । ‘खाडी मुलुक जाने कोही पनि छिटो फर्किँदैनन्’ उनले भने, ‘कम्तीमा पनि ४/५ वर्षसम्म उनीहरु घर नफर्किँदा भर्खर जन्मिएको बच्चा छ भने उसले पनि आफ्नै बुबालाई नचिन्ने परिस्थिति छ ।’

अधिवक्ता कडेँलको बुझाइमा अहिले कतिपय विवाह बुझेर भन्दा पनि परिवारिक दबाबले विदेश जानका लागि हुने गरेका छन् । ‘यो समस्या शिक्षित समुदायमै छ, विदेश जानका लागि हतारमा विहेका निर्णय भइरहेका छन्’ उनले भने, ‘परिणामतः पछि सम्बन्ध विच्छेद हुनु आश्चर्यको कुरा होइन ।’

बालबालिकामा प्रभाव
वैदेशिक रोजगारीमा जाँदा दम्पति अलग हुनाले बालबालिकामा पनि नकारात्मक प्रभाव पारिरहेको छ । ‘परिवारसँग हुर्किन पाउने, माया, प्रेम र स्नेह पाउनु बालबालिकाको अधिकार हो, तर सानै उमेरमा बालबालिकाले अभिभावकत्वबाट बञ्चित हुनु परिरहेको छ’ बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्मा भन्छन्, ‘आमाबावुमध्ये एकजना विदेश जानेबित्तिकै बच्चालाई होस्टलमा राख्ने गरेको पाइन्छ, यसले पनि असर पारिरहेको छ ।’

बुबाआमाबीच द्वन्द्व भएको कुरा बालबिालकाले थाहा पाउँदा उनीहरु पनि जे पायो त्यही बोल्ने, उत्सुकता राख्ने र यदाकदा अपराधमा पनि जोडिने गरेको देखिएको शर्मा बताउँछन् । उनको भनाइमा बुबाआमाबीच झगडा हुँदा दुबैजनाले बच्चामाथि रिस पोख्ने गरेका छन् । ‘त्यसले बालबालिकाको मनोविज्ञानमै असर गरिरहेको छ’ शर्मा भन्छन् ।

बालअधिकार अभियन्ता सञ्जीव न्यौपानेका अनुसार वैदेशिक रोजगारीले सिर्जना गरेको अवस्थाबाट श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद हुँदा बच्चालाई आर्थिक ‘बार्गेनिङ’ को माध्यम पनि बनाउने गरिएको छ ।

‘बच्चाले आफ्नै अगाडि हिंसा देख्नु परिरहेको हुन्छ, उनीहरुले पर्याप्त हेरचाह पनि नपाउँदा खराब संगतमा पर्छन’ उनले थपे, ‘एउटा बच्चा एक प्रकारको जोखिममा प¥यो भने निरन्तर अरु जोखिम आउने क्रम सुरु हुन्छ भनिन्छ, यस्ता बालबालिका अरु जोखिममा पनि पर्ने सम्भावना हुन्छ ।’

न्यायिक समितिमा उजुरीका चाङ
संविधानले स्थानीय तहले न्याय दिलाउने व्यवस्था गरेसँगै स्थानीय तहमा उजुरीका चाङ लाग्ने गरेका छन् । न्यायिक समितिको नेतृत्व स्थानीय तहका उपप्रमुखले गर्ने गर्छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका पूर्व उपप्रमुख बमबहादुर भट्टराई भन्छन्, ‘समितिमा आउने अधिकांश उजुरी वैदेशिक रोजगारीसँग जोडिएकै हुन्छ, यो समाजको ठूलो चुनौतिको रुपमा देखा परेको छ ।’

‘अधिकांश पुरुष वैदेशिक रोजगारीमा गए कमाई हुने साथै पारिवारिक झमेलाबाट समेत टाढा हुन पाउने मनसायले विदेश जान्छन्’ उनले भने, ‘यसले कति पुरुष विदेशमा नै भुल्छन् त कति महिला श्रीमान् विदेश गएपछि परपुरुषसँग सम्बन्ध राख्न पुग्छन्, जसले परिवारमा विग्रह बढाउँदै लगेको छ ।’

सुनसरीको धरान उपमहानगरपालिकाकी पूर्व उपप्रमुख मञ्जु भण्डारी न्यायिक समितिमा वैदेशिक रोजगारीसँग जोडिएका उजुरीको चाङ लाग्ने गरेको बताउँछिन् । ‘न्यायिक समितिको काम भनेको सम्बन्ध जोड्ने हो, तोड्ने होइन’ भण्डारीले भनिन्, ‘तर, सम्बन्ध विच्छेद हुने अवस्थामा पुगेपछि मात्रै उजुरी आउने गरेका छन् ।’

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ । रोजगारीमा जाने महिलाहरुले पनि पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै उजुरी दिने गरेको उपप्रमुख भण्डारी बताउँछिन् । विवाह गरेर श्रीमान् श्रीमतीले एकअर्कालाई राम्रोसँग नबुझ्दै वैदेशिक रोजगारीमा जाँदा समस्या आउने गरेको भण्डारीको अनुभव छ ।

झापाको कनकाई नगरपालिकाकी पूर्व उपमेयर मञ्जु प्रसाईंको अनुभव पनि उस्तै छ । ‘मेरो अनुभवले अहिले समाजको मुख्य समस्या नै वैदेशिक रोजगारी भएको देखाउँछ’ प्रसाईंले भनिन्, ‘वैदेशिक रोजगारीले धेरै घरबारविहीन हुने गरेका छन्, श्रीमान् हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुन्छ, पछि गम्भीर समस्या आउने गरेका छन् ।

‘श्रीमान्ले बाहिरबाट नियमितरुपमा मोटो रकम पठाइदिने र त्यसको श्रीमतीले दुरुपयोग गर्ने गरेको घटना पनि छन्’ उनले भनिन्, ‘वैदेशिक रोजागरीले गाउँ विरक्तैलाग्दो बनाएको छ ।’

समाधान : स्वदेशमै रोजगारी
झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा समाजशास्त्रका प्राध्यापक तिलविक्रम कन्दङ्वा समाजमा आवश्यकताभन्दा बढी स्वतन्त्रताको अभ्यास भइरहेको बताउँछन् । ‘पहिले संयक्त परिवार हुन्थ्यो, रेखदेख हुन्थ्यो । आफैं कसले के गरिरहेको छ, निगरानी भइरहेको हुन्थ्यो’ उनी भन्छन्, ‘अहिले एकल परिवार हुन्छ, कसले के गर्दै छ कसैलाई थाहै हुँदैन, यसले समस्या बढाइरहेको छ ।’

‘विदेश गएर पुरुषले जति नै कमाएर ल्याए पनि नेपाल आउँदा सबै लिएर श्रीमती अर्कैतिर गएका उदाहरण पनि छन्, श्रीमती विदेश हुनेको हकमा पनि पुरुषले फटाइँ गरेका घटना पनि छन्’ कन्दङ्वाले भने, ‘श्रीमती नेपालमा भएको अवस्थामा श्रीमान् पनि विदेशमा अर्केतिर लाग्ने गरेका उदाहरण थुप्रै छन् ।’

यो सामाजिक समस्याको समाधानको मुख्य उपाय भनेको स्वदेशमै रोजगारीको अवसार सिर्जना गर्नु भएको उनी बताउँछन् । ‘अहिले कुनै पनि युवा रहरले विदेश गएका होइनन्, उनीहरुको बाध्यता हो’ कन्दङ्वाले भने, ‘संघीय सरकार वा स्थानीय तहले उनीहरुलाई नेपालमै रोजगारी दिएर राख्न सक्ने हो यस्तो समस्या रहँदैन ।’ स्वदेशमा उद्योग, कलकारखाना र रोजागरीका क्षेत्रहरु बढाएर विदेशप्रतिको मोहलाई घटाउनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्