पाँचथर बढारियो एमाले

झापा, जेठ ३ । पाँचथरको ८ वटा स्थानीय तहमा सत्तागठबन्धनको बलियो पटड देखिएको छ । प्रतिपक्षि नेकपा एमालेले जिल्लाको कुनै पनि स्थानीय तहमा जित निकाल्न सकेन ।
तर, सत्तारुढ नेपाली कांग्रेसले पाँचवटा स्थानीय तहको प्रमुखमा जित निकालिसकेको छ । माओवादी केन्द्रले एक स्थानीय तहमा जित निकालेको छ । मत गणना बाँकी भएको २ वटा स्थानीय तहमा कांग्रेस अगाडि रहेको छ ।
पाँचथरको तुम्वेवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का विजयी भएका छन् । फाल्गुनन्द गाउँपालिकामा कांग्रेसका बृजहाङ आङ्देम्बे, फालेलुङ गाउँपालिकामा कांग्रेसकै बीर बिक्रम थाम्सुहाङ, हिलिहाङ गाउँपालिकामा कांग्रेसकै समबहादुर अधिकारी र कुम्मायक गाउँपालिकामा बम लावतीले विजय हासिल गरिसकेका छन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्रका अमराज माखिम विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मत अन्तरले पराजित गरेका छन् । मत गणना सम्पन्न भएका ६ पालिकामा उपाध्यक्ष तर्फ पाँच पालिकामा सत्ता गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् । हिलिहाङ गाउँपालिका मात्र उपाध्यक्षमा एमालेकी सुमित्रा सेढाईँ विजयी भएकी छन् । उनी वर्तमान उपाध्यक्षसमेत हुन् ।
मत गणना बाँकी रहेको फिदिम नगरपलिका र याङवरक गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार अगाडि रहेको पाँचथरका पत्रकार दिपक बोहोराले बजार दैनिकलाई जानकारी दिए । फिदिम नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार मित्रप्रसाद काफ्लेले सुरुवाति चरणबाट नै अग्रता लिएको बोहोरा बताउँछन् । याङवरक गाउँपालिकामा कांग्रेसका उम्मेदवार मोविन्द्र योङ्याले एमालेका उम्मेदवार सुवास योङ्यालाई उछिनिरहेका छन् ।