चन्द्रगढीसहित ६ विमानस्थलमा रातको १२ बजेसम्म उडान गर्दै बुद्ध एयर


Bazar Dainik
12 May, 2022 1:00 pm

झापा, वैशाख २९ । बुद्ध एयरले आगामी आइतबारदेखि झापाको चन्द्रगढीसहित विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो ।

झापाको चन्द्रगढी विमानस्थलमा उडान भर्दै बुद्ध एयर । तस्बिर : बजार दैनिक ।

यस अनुसार अब रातको १२ बजेसम्म आन्तरिक उडानका जहाज उड्ने भएका छन् । बुद्ध एयरले चन्द्रगढी, जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा र सिमरामा रात्रिकालीन उडान गर्न लागेको जनाएको छ । यी उडानमा राती ८ बजेदेखि समय सुरु हुने छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको छ ।

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रात्रिकालीन उडान विहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्