सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड रुपैयाँ जम्मा


Bazar Dainik
7 May, 2022 4:50 pm

झापा, वैशाख २४ । सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकहरूको खातामा एक अर्ब छ करोड रुपैयाँ जम्मा गरिदिएको छ । गत जेठ र असार महिनाको योगदानबापतको रकममध्ये ८४ प्रतिशत रकम जम्मा गरिदिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

उनका अनुसार श्रमिकहरूको खातामा सरकारले अझै १६ प्रतिशत रकम जम्मा गरिदिएको छैन । लामो समयपछि करिब एक अर्ब २० करोडको ८४ प्रतिशत मात्र जम्मा गरिदिएको हो । बाँकी १६ प्रतिशत पनि यही आर्थिक वर्ष भित्र निकासा हुने बताइएको छ ।

सरकारले कोषमा सूचीकृत श्रमिकको गत जेठ र असारको सामाजिक सुरक्षा बापतको रकम भुक्तानी गर्ने घोषणा गरेको थियो । दोस्रो चरणको कोभिड संक्रमणका कारण समस्यामा परेका श्रमिक तथा रोजगारदातालाई पनि राहत हुने गरी सरकारले दुई महिनाको योगदान रकम आफैंले भुक्तानी गरिदिने निर्णय गरेको हो ।

चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रमिकले योगदान गर्नुपर्ने ११ प्रतिशत र रोजगारदाताले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम सरकारले भुक्तानी गर्ने घोषणा गरेका थिए ।

उक्त समयसम्म कोषमा सूचीकृतमध्ये नियमित योगदान गर्ने करिब डेढ लाख श्रमिकलाई सरकारले जेठ र असारको योगदान रकम अनुदान दिने उल्लेख गरेको थियो ।

कोषमा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत (११ प्रतिशत श्रमिकका तर्फबाट र २० प्रतिशत रोजगारदाताका तर्फबाट) मासिक जम्मा गर्नुपर्छ । जम्मा भएको ३१ प्रतिशत रकम विभिन्न योजनाअन्तर्गत बाँडफाँट हुन्छ ।

योगदान रकमको सबभन्दा बढी हिस्सा २८.३३ प्रतिशत रकम बृद्धावस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुन्छ । जसमध्ये २० प्रतिशत रकम निवृत्तिभरण (पेन्सन) योजनाअन्तर्गत रहन्छ भने बाँकी ८.३३ प्रतिशत अवकाश योजनामा जम्मा हुन्छ । त्यस्तै १.४ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत जम्मा हुन्छ । औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि एक प्रतिशत र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ०.२७ प्रतिशत रकम जम्मा हुन्छ ।

हालसम्म कोषमा तीन लाख ३२ हजार ५९ श्रमिक सूचीकृत छन् । त्यस्तै १७ हजार ७४ रोजगारदाता जोडिएका छन् । कोषमा १६ अर्ब ३४ करोड योगदान रकम जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्