चुनावका लागि पेट्रोलियम पदार्थ स्टकमा राख्दै निगम


Bazar Dainik
7 May, 2022 4:39 pm

काठमाडौँ, वैशाख २४ । नेपाल आयल निगमले स्थानीय चुनावका लागि सबै डिपोहरुमा पेट्रोलियम पदार्थ मौज्दात राख्न थालेको छ । स्थानीय तह चुनावको मतदान आगामी शुक्रबार हुँदैछ । निर्वाचन अवधिका लागि अभाव हुन नदिन पेट्रोलियम पदार्थ अभाव हुन नदिनका लागि ‘स्टक’ मा रहने निगमले जनाएको छ ।

‘निर्वाचनमा पेट्रोलियम पदार्थको खपत बढ्छ । हामी सबै डिपोहरुमा स्टक गर्दैछौं,’ निगमका सह प्रवक्ता पुष्कर कार्कीले भने । हाल पेट्रोलियम पदार्थ दैनिक आयात भइरहेको छ । रक्सौल–अमलेखगन्ज पाइपलाइनबाट पनि आइरहेको छ ।

चुनावको समयमा धेरै सवारीसाधन प्रयोग हुन्छ । त्यति बेला इन्धनको अभाव भयो भने झन समस्या हुन सक्छ । यसले गर्दा पूर्व तयारी सुरु गरेको कार्कीले बताए । ‘चुनाव अघि ४८ घण्टासम्म सीमा बन्द हुने भएकाले अहिलेदेखि स्टक थालेको हो,’ उनले भने, ‘निगमसँग अहिले ७६ प्रतिशत पेट्रोलियम पदार्थको स्टक छ । पाइपलाइनमा रहेका बुलेटहरुसहित निगमको स्टक शतप्रतिशत हुनेछ ।’

हाल निगमसँग ६ हजार ४ सय ५२ किलोलिटर पेट्रोल स्टकमा छ भने ३७ हजार २ सय किलोलिटर डिजल र १५ सय ५२ किलोलिटर मट्टितेल छ । अहिले दैनिक २ हजार किलोलिटर पेट्रोल र ५ हजार किलोलिटर डिजेलको खपत भइरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्