प्रदेश १ को आर्थिक वृद्धिदर ५.५१ प्रतिशत


Bazar Dainik
5 May, 2022 2:48 pm

झापा, वैशाख २२ । चालु आर्थिक वर्ष २०७८/७९ मा प्रदेश –१ को आर्थिक वृद्धिदर ५.५१ प्रतिशत हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले बिहीबार प्रदेशगत लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विभागले यस आवमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रेक्षपण गरेको छ । प्रदेशगत रुपमा सबैधन्दा धेरै आर्थिक वृद्धिदर बागमतीमा हुने भएको छ ।बागमती प्रदेशको वृद्धिदर ६.७४ प्रतिशत रहने अनुमान विभागले गरेको छ ।

सबैभन्दा कम आर्थिक वृद्धिदर सुदुरपश्चिम प्रदेशको रहने छ । विभागका अनुसार सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रक्षेपण विभागले गरेको छ ।

विभागको तथ्यांक अनुसार प्रदेश नं १ – ५.५१ प्रतिशत, मधेश – ४.८२ प्रतिशत, बागमती – ६.७४ प्रतिशत, गण्डकी – ६.१७ प्रतिशत, लुम्बिनी – ५.३६ प्रतिशत, कर्णाली – ५.४७ प्रतिशत, सुदुरपश्चिम – ४.९३ प्रतिशत रहेको छ ।

गत आव २०७७\७८ मा समेत बागमती प्रदेशको आर्थिक वृद्धिदर अन्य प्रदेशको तुलनामा बढी रहेको थियो । विभागले गत आवको यथार्थ तथ्यांक सार्वजनिक गर्दै बागमतीले ४.५८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गरेको जानकारी गराएको छ ।

सो आवमा भने सबैभन्दा कम गण्डकी प्रदेशको रहेको थियो । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.७३ प्रतिशत थियो । यसो हुनुमा गत आवमा पर्यटकीय गतिविधि कम हुनु मूख्य कारण थियो । किनकी गण्डकी प्रदेशको मूख्य आयमा पर्यटनको हिस्सा सबैभन्दा धेरै छ ।

तथ्यांक विभागका अनुसार बागमती प्रदेशको अर्थतन्त्रको मेरुदण्ड थोक तथा खुद्रा व्यापार हो । तर, अन्य प्रदेशमा भने कृषिको हिस्सा धेरै छ । व्यापार प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशको कृषि पछि दोस्रो ठूलो हिस्सा ओगट्ने क्षेत्र हो । बागमतीमा भने दोस्रो स्थानमा घरजग्गा सम्बन्धी कारोबार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्