दुख दिने मनसायले त्रिभुवन विमानस्थलमा आएको त्यो कल !


Bazar Dainik
4 May, 2022 2:51 pm

झापा, वैशाख २१ । बुधबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको फोनले सिंगो मुलुक नै सशंकित बन्यो । एक पुरुषले विदेशी नम्बरबाट गरेको फोन कलले विमानस्थलको सुरक्षा व्यवस्थालाई ठाडै चुनौती दियो ।

बिहान ९ बजेर ४० मिनेटमा विमानस्थलमा पहिलो फोन आएको थियो । सुरुमा ‛सलाम वालेकम…’ भन्दै पुरुषले विमानस्थलमा बम राखेको जानकारी दिएको त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताए ।

दुई घण्टाभित्र बम विस्फोट हुने भन्दै थप जानकारी दिएका थिए फोनमा ति पुरुषले । त्यसपछि केही मिनेट अन्तरमा फेरि अर्को कल आयो । नेपाली भाषामा नै उनले विमानस्थलको सात ठाउँमा बम राखेको सूचना दिए ।

विमानस्थलमा बम राखेको नै भनेपछि सबै सुरक्षा निकाय झस्किनु स्वाभाविक थियो । लगत्तै उड्न लागेका आन्तरिक उडानदेखि प्रतीक्षालयका कक्ष समेत खाली गरियो । बम खोज्न सुरक्षा निकाय परिचालन भयो ।

करिब डेढ घण्टासम्म सुरक्षाकर्मीले प्राविधिक टोलीसहित विमानस्थलमा खानतलासी गरे । तर, अज्ञात व्यक्तिले फोनमा भने झैं विमानस्थलबाट केही पनि भेटिएन । सुरक्षामा कुनै पनि खतरा नदेखेपछि करिब डेढ घण्टासम्म अवरुद्ध बनेको विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

‘प्राविधिक टोली सहित सुरक्षाकर्मीले सबै ठाउँमा खोजी ग¥यो कतै पनि बम भेटिएन’ चुडालले बजार दैनिकसँग भने, ‘कसैले दुख दिने मनसायले हल्ला चलाएको मात्र हुनसक्छ,’।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले विमानस्थलको सबै ठाउँमा सर्च गरेको थियो । सेनाको डिस्पोजल टोली र नेपाल प्रहरीको तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरेको उनले बताए । बिहान ९ बजेर ४० मिनेटदेखि ९ बजेर ५० मिनेटसम्म आएका तीनवटा कलको प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

यस प्रकरणले आन्तरिकतर्फका उडान केही समय अवरुद्ध भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै प्रभाव नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्