मेरो पृष्ठभूमिका कारण फरक पार्टीका मतदातको पनि सद्भाव पाउँछु –गिता अधिकारी


मनिषा चम्लागाईं
23 April, 2022 10:38 am

गिता अधिकारी । तस्बिर : बजार दैनिक ।

झापा, वैशाख १० । झापाको दमक पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । स्थानीय सरकारको निर्वाचन सुरु भएसँगै दमकलाई सबैले चासोका साथ हेरेका छन् । दमकमा पार्टीले मेयरको टिकट कसकसलाई दिन्छन् भन्ने विषय पनि उतिकै महत्वपूर्ण छ ।

नेकपा एमालेले मेयर पदमा ३ जनाको नाम सिफारिस गरेको छ । झापाका अन्य सबै नगरपालिकामा उम्मेदवार छनौटका लागि निर्वाचन नै भयो, तर दमक मात्र यस्तो नगर हो, जहाँबाट सर्वसम्मतरुपमा तीन जनाको नाम पठाइएको छ । दमक नगरपालिकाकी उपमेयर अधिकारी, होमबहादुर थापा र अम्बिका खनाल रहेका छन् ।

एमालेले गिता अधिकारीलाई बलियो उम्मेदवारको रुपमा हेरेको छ । पाँच वर्षमा उनको लोकप्रियता देखेरै एमाले दमकले उनलाई ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा मेयरका लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटी झापाले चाहिं पार्टी अध्यक्षको गृह नगर भएकाले दमकको टिकटबारे निर्णय गर्ने जिम्मा केपी शर्मा ओलीलाई नै दिएको छ । पालिकामा उम्मेदवार हुन बहालवाला पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने भएकाले अधिकारीले शुक्रबार नै उपप्रमुखबाट राजीनामा दिएकी छन् । उनै अधिकारीसँग बजार दैनिकले गरेको कुराकानीको सार :

मेयरको टिकट तपाईँले पाउनुहुन्छ भन्ने चौतर्फी चर्चा सुनिन्छ नि ?
नेकपा एमालले दमकमा सिफारिस गरेका ३ जना उम्मेदवार मध्ये म पनि हुँ । टिकट भने पार्टीले दिने हो । पार्टीले निर्णय पछि मात्र टिकट कसले पायो भन्ने विषय टुङ्गो लाग्छ ।

पहिलो निर्वाचनमा उपमेयरको टिकट कसरी पाउनु भयो ?
नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा दमकको उपमेयरका लागि सिफारिस गरेको तीन नाममा मेरो नाम थिएन । मैले पनि उपमेयरमा उठ्नेबारे सोचेकी थिइनन् । म विगत २८ वर्षदेखि दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरिरहेकी थिएँ । प्राध्यापन पेशामा नै म खुशी पनि थिएँ ।

नेपाली कांग्रेसले बलियो प्रतिस्पर्धी उठाएपछि सामाजिकरुपमा पनि सक्रिय र अध्ययन पनि राम्रो भएकाले होला मेरो नाम आएको थियो । पार्टीले उपमेयरमा टिकट दिने भएपछि मैले प्राध्यापन पेशाबाट राजीनामा दिएँ । मलाई सम्पूर्ण मतदाताहरुले भोट दिएर अत्याधिक मतका साथ बिजयी गराउनु भयो । मैले पठाएका विद्यार्थी भाईवहिनीहरुले देश विदेशबाट सहयोग गरेर नै म उपप्रमुख बन्न सकेको हुँ ।

प्रध्यापन र राजनीतिमा के फरक पाउनु भयो ?
मैले उपप्रमुखमा बिजयी भएपछि थाहा पाएँ कि राजनीति त विश्वविद्यालय रहेछ । हिजो प्राध्यापन छाडेकामा कुनै ग्लानी छैन । प्राध्यापन पेशा हो भने राजनीति सेवा हो । झण्डै तीन दशक प्राध्यापन गरेकाले मलाई नागरिकस्तरबाट पनि राम्रो सद्भाव र सहयोग रह्यो । अधिकांश मैले पढाएका विद्यार्थीहरु नै मतदाता थिए, मत हालेपछि फरक पार्टी र आस्था भए पनि सदभाव पाइँदो रहेछ । त्यही कारण होला वितेको पाँच वर्षमा मैले कुनै असजिलो महसुस गर्नुपरेन, सबै नजिक आउने, कुनै पनि कुरा सजिलै राख्ने गर्नुभयो ।

यो अवधिमा दमकमा मेयरलाई भन्दा उपमेयरलाई रुचाइयो भन्छन्न नि ?
मेयरलाई भन्दा उपमेयरलाई रुचाइएको भन्दा पनि मेयर रोमनाथ ओली राजनीतिक रुपमा पनि उचाइमा पुगेका व्यक्ति हुनुहुन्छ । त्यसैले मेयरलाई कुनै कुरा सुनाउनुभन्दा मलाई भन्न नागरिकलाई सहज लागेको भने हुन सक्छ । मैले चाहिं तीन ‘जेनेरेसन’लाई पढाइसकेकाले पनि उहाँहरुले सहज मान्नु भएको होला । मलाई उपपमेयर भन्दा पनि ‘मेम’ कै नजरले धेरैले हेर्नुभयो । तर मैले मेयरज्यूकै सुझाव लिएर सन्तुलित ढंगले काम गरेको हुँ ।

मेयर बन्ने इच्छा जाहेर किन गर्नु भएको ?

कतिपय निर्णय उपप्रमुख भएर लिन नसकिंदो रहेछ, यो बाटो सही हो भन्दाभन्दै पनि हैसियतले नदिने अवस्था हुन्छ । विगतमा राखेका केही योजना पूरा भएका छैनन्, त्यसैले अब मेयर भएँ भने पूरा गर्छु भन्ने अपेक्षा राखेर मेयरमा दाबी गरेकी हुँ । नगरको विकासको लागि मसँग स्पष्ट भिजन छ । पार्टीले टिकट दिएपछि म मेरो भिजन सार्वजनिक गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्