झापाका किसानका दुःख –कात्तिकमा बाढीले धान लग्यो, चैतमा असिनाले मकै


मनिषा चम्लागाईं
14 April, 2022 9:10 am

कचनकवल, वैशाख १ । झापाको कचनकवल गाउँपालिकामा गत आइतबार आएको असिनापानीले मकै बालिमा ठूलो क्षति ¥याएको छ । कचनकवल गाउँपालिकाको पथरीया, घेराबारी क्षेत्रमा लगाइएको मकै बालिमा क्षति पु¥याएको हो ।

गत कात्तिकमा बाढीले धानबालीमा पु¥याएको क्षतिको क्षतिपूर्ती नपाउँदै कृषकले लगाएको हाइब्रिड मकै पनि सखाप भएको छ । “कात्तिकमा बाढीले पाक्न लागेको धान लग्यो । अहिले असिनाले मकै” कचनकवल गाउँपालिका –४का अमरसिंह गणेश भन्छन्, “३ विगाहमा लगाएको मकै काम नै नलाग्ने भयो ।” गणेशले मकै बालिमा करिब १ लाख २० हजार रुपैयाँ बढी खर्च गरेका थिए ।

कमै बारीमा बाख्रा चराउँदै कचनकवलका कृषक । तस्बिर : बजार दैनिक ।

“हामीले चुनाव जिताएका जनप्रतिनिधि हाम्रो दुःखमा आउँदैनन्” गणेशले भने, “चुनाव आउँदै छ । मलाई मान्छेले भोट दिन्छ कि दिदैँन भन्ने पनि नभएको । क्षतिपूर्तीका लागि हामी कोशिश गर्छौँ मात्र भनेपनि हामी कृषकलाई सहानुभूति त हुने थियो नि ।”
असिनाले मकै काम नलाग्ने भएपछि कचनकवल –३ का मघुलाल यादव मकैबारीमा बाख्रा चराउन थालेका छन् । “यति धेरै खर्च र मेहेनत गरेर लगाएको मकैबारी बाख्रा चराउनु परेको छ” उनी भन्छन्, “कति क्षति भयो भनेर अहिलेसम्म न जनप्रतिनिधि आएका छन् । न कृषिका कर्मचारी नै ।”

कमै बारीमा बाख्रा चराउँदै कचनकवलका कृषक । तस्बिर : बजार दैनिक ।

सिमावर्ती भारतीय बजारबाट मकैको बिउ, मल ल्याएर खेती गर्दै आएका कृषकले ठूलो मारमा परेको –कचनकवल ३ का मिथुन यादव बताउँछन् । “खेती गर्ने समयमा बीउ, मल पाइदैन । दिनरात नभनी भारतीय बजारबाट बीउ, मल, औषधि ल्याएर लगाएको मकैबाली आधा घण्टा परेको असिनापानीले सखाप बनायो ।” सरकारले पनि कृषकलाई उपेक्षा गरेको छ, कृषकको पक्षामा बोल्ने कोही छैन ।

असिनाले चैते धानमासमेत क्षति पु¥याएको कचनकवल गाउँपालिकाका –४का पदमलाल गणेश बताउँछन् । “धानको फूल फुल्ने समयमा आएको असिनाले फूल झारेको छ” उनले भने, “उत्पादन नै नहुने हो कि भन्ने पीडा हामीमा छ ।”

कमै बारीमा असिनाले पु¥याएको क्षति । तस्बिर ः बजार दैनिक ।

प्रतिक्रिया दिनुहोस्