सहाराले सुरु गर्‍यो एटिएम सेवा


Bazar Dainik
4 April, 2022 9:05 pm

झापा, चैत २१ । सहारा नेपाल साकोसले २७ औँ स्थापना दिवसको अवसर पारेर एटिएम सेवा सुरु गरेको छ । सहाराले सोमबार केन्द्रीय कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर एटिएम मेसिन सञ्चालन सुरु गरेको हो ।

संस्थाले केन्द्रीय कार्यालय र धुलाबारी सेवाकेन्द्रमा एकैसाथ एटिएम सेवा सुरु गरेको सहाराका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । “एटिएम सेवालाई थप विस्तार गर्दै लैजाने योजना बनाएका छौँ” गिरीले भने, “आज सार्वजनिक गरेको एटिएम कार्ड आजैबाट सञ्चालनमा आएको छ ।”

सहाराले सञ्चालनमा ल्याएको एटिएम कार्ड नेपाल र भारतमा सञ्चालनका लागि स्वीकृत छ । संस्थाले जारी गरेको कार्ड एससिटी युपिआइ डेबिट कार्ड हो ।

वार्षिकोत्सवमा वितरित प्रेस विज्ञप्तिअनुसार सहारामा हालसम्म एक लाख ६० हजार सदस्य पुगेका छन् भने ७७ वटा सेवाकेन्द्र रहेका छन् । सहारा नेपाल ६ जिल्लामा पूर्ण रुपमा र ५ जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।

संस्थाको शेयर पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत ९ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३ सय १६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा १ अर्ब रुपैयाँ रहेको गिरीले बताए ।

संस्थाले गरिबी निवारण, स्वास्थ्य, शिक्षा, जैविक विविधता तथा वातावरण संरक्षण, खाद्य सुरक्षा, स्वच्छ ऊर्जाका क्षेत्रमा काम गर्दै दिगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । त्यस्तै, रोजगारी सिर्जनामा योगदान, कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग, पशुपालनमा किसानलाई सहयोग, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै आएको छ ।

१ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले गरेका थिए । सञ्चारकर्मी केशव भट्टराईले सहजीकरण गरेको कार्यक्रममा शेयर सदस्य स्वर्गीय माधव बराइलीको परिवारलाई परिवार राहत रकमअन्तर्गत ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत रामचोक नौमती बाजा समूहलाई वाद्यवादन र स्थानीय छजना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका संरक्षक नरनाथ गिरी, राप्रपा झापा अध्यक्ष केशव ओझा, कांग्रेस झापा सभापति देउकुमार थेवे, एमाले झापा अध्यक्ष दिपक कार्की र प्रमुख अतिथि सरावगीले बोलेका थिए ।

मंगलबारे सेवा केन्द्रद्वारा उद्यमी महिलालाई सम्मान
सहारा नेपाल साकोस इलाम मंगलबारे सेवा केन्द्रले पनि वार्षिकोत्सव अवसरमा विविध कार्यक्रम गरेको छ । सहाराको ३३ औँ सेवा केन्द्रको रुपमा रहेको मंगलबारे सेवा केन्द्रले वार्षिकोत्सवको अवसर पारेर उद्यमी सदस्य भोजकुमारी चौहान र शान्ति सुनुवार मुखियालाई सम्मान गरेको छ ।

मंगलबारे सेवा केन्द्रमा १९ सय सदस्य रहेका छन् । कार्यक्रममा बोल्दै संस्थाका सदस्य मुकुन्द पौडेलले समग्र संस्थाको अवस्था र कार्यक्रमको प्रशंसा गरे । कार्यक्रममा अलैंची व्यवसायी महासंघका उपाध्यक्ष मात्रिका घिमिरेले संस्थाले स्थानीय क्षेत्रमा पारेको प्रभाव, महिला उत्थानको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा देउमाई प्रमुख रुपेन्द्र प्रसाद न्यौपाने, इलाम उद्योग वाणिज्य संघ शाखा कार्यलय देउमाईका अध्यक्ष रमेश श्रेष्ठ, उद्योग वाणिज्य संघ शाखा कार्यलय देउमाईकी महिला सदस्य सुजिना घिमिरे लगायतले आफ्नो धारणा राखेका थिए ।

सहारा नेपाल साकोस मंगलबारे सेवाकेन्द्रका बिकास गिरीले समग्र संस्थाको कार्यक्रम र निती बारे प्रष्टाएका थिए । भिन्तूना रेष्ट्रोमा भएको कार्यक्रमको सञ्चालन कल्पना खत्रीले गरेकी थिइन् । कार्यक्रममा कृषि विकास बैंक, एक्सेल बैंक मंगलबारेका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्