औद्योगिक क्षेत्रमा भएको लोडसेडिङले व्यवसायी मारमा


Bazar Dainik
30 March, 2022 9:27 am

झापा, चैत १६ । नेपाल विद्युत प्राधिकरणले दैनिक रूपमा अघोषित लोडसेडिङ सुरु गरेपछि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । दैनिक १२ घण्टा लामो लोडसेडिङका कारण उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको उद्योगीहरूको भनाइ छ । सरकारले विद्युत आपूर्तिलाई सहज नबनाए धेरै उद्योग बन्द हुने उनीहरूले बताएका छन् । सहज रुपमा विद्युत आपूर्तिको व्यवस्था मिलाउन उद्योगीहरूले मागसमेत गरेका छन् ।

मंगलबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले संयुक्त पत्रकार सम्मेलन गरेर बैंकको चर्को ब्याज, तरलता अभाव, कोभिडको महामारीलगायतका समस्याबाट थलिएका उद्योगी व्यवसायीहरू लोडसेडिङको समस्या थपिँदा उठ्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् । केही दिनदेखि औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ भइरहेको छ । साँझ ६ देखि बिहान ६ बजेसम्मको पिक आवरमा लोडसेडिङ भनिए पनि त्यसभन्दा बाहेकको समयमा पनि लोडसेडिङ भइरहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । भन्नलाई साँझ ६ देखि बिहान ६ बजेसम्म भनेपनि दिउँसो ४ बजेदेखि नै विद्युत नआउने उनले बताए । उनले व्यवसायीहरू मन्दिरको घण्टीजस्तै भएको बताए ।

उत्पादन कटौती हुँदा हजारौं मजदुरको रोजगारी गुमेको उनको भनाइ छ । उद्योग सञ्चालनका लागि विद्युतको सुनिश्चितता गर्न सरकार र विद्युत प्राधिकरणसँग उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले माग गरे । केही दिनअघिसम्म पर्याप्त विद्युत दिने भन्दै ठूला उद्योगमा लगानी गर्न आग्रह गरेको सरकारले एक्कासि चर्को लोडसेडिङको अवस्थामा पु¥याएपछि सरकार र प्राधिकरणले पर्याप्त विद्युत छ भनेर जनतालाई ढाँटेको प्याकुरेलले बताए । भारतले विद्युत नदिएको निहुँमा एक्कासि लोडसेडिङ गरेपछि विद्युतमा नेपाल आत्मनिर्भर नरहेको स्पष्ट भएको प्याकुरेलको भनाइ छ ।

नेपाल उद्योग परिसंघका प्रदेश–१ अध्यक्ष भीम घिमिरेले आफूले पटक–पटक मन्त्री र प्राधिकरणसँग पहल गरिरहेको बताए । बैंकको चर्को ब्याजदर र तरलता अभावको समस्याबाट थलिएका उद्योगी व्यवसायीलाई लोडसेडिङको समस्या थपिएको गुनासो गरे । उनले सरकार गम्भीर नभए मुलुकको अर्थतन्त्र थप दयनीय बन्ने चेतावनी दिए ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले प्राधिकरणले चाहिए जति बिजुली दिन्छौं भनेर उद्योग थपेको तर, अहिले आएर लोडसेडिङ गर्दा आफूहरू मारमा परेको सुनाए । उनले भारत र बंगलादेश निर्यातको कुरा गर्ने सरकार र प्राधिकरणले जनातालाई ढाँटिरहेको आरोप लगाए ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ ले पनि विद्युत आपूर्ति सहज बनाउन माग गरेको छ । महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै लोडसेडिङ हुँदा उत्पादन कटौती भई रोजगारी गुम्नुका साथै सरकारको राजस्वमा समेत प्रभाव पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्