चन्द्रढीमा म्यादी प्रहरीको लाइनमा कपाल फुलेकादेखि विद्यार्थीसम्म


Bazar Dainik
23 March, 2022 11:04 am

झापा, चैत ८। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएसँगै झापाको चन्द्रगढीमा फारम भर्नेहरुको घुइँचो लागेको छ । चन्द्रगढी स्थित प्रदेश प्रहरी कार्यालय विपद व्यवस्थापन गुल्ममा युवादेखि कपाल फुलेका (५४ वर्ष ननाघेका)को घुइँचो लागेको देख्न सकिन्छ ।

बुधबार प्रहरी कार्यालयको गेटमा म्यादी प्रहरीमा फाराम भर्न लाइनमा उभिएका कचनकवलका ५३ वर्षिया रामहरी अधिकारी आफू कृषक भएको बताए । ‘कृषि कर्मले खान त पुग्छ । तर, आम्दानीको अन्य स्रोत नभएकाले म्यादीमा जागिर खान आएको हु’ अधिकारीले भने ।

लाइनमा बसेका अर्जुनधाराका विवेक राई पठाई खर्च जुटाउन म्यादी प्रहरीमा फारम भर्न आएको बताउँछन् । चन्द्रगढीमा चैत १२सम्म फारम भरिने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । दैनिक सयौँले फारम भर्दै आएको पाठक बताउँछन् । झापामा २ हजार ७ सय ६४ म्यादी प्रहरी भर्ना गरिँदै छ ।

मोरङमा ३ हजार २७, सुनसरीमा दुई हजार एक सय ४३, इलाममा एक हजार एक सय नौ, पाँचथरमा नौ सय १६, उदयपुरमा नौ सय पाँच, ओखढुङ्गामा पाँच सय ७९, ताप्लेजुङमा ६ सय ४७, तेह्रथुममा तीन सय ९९, भोजपुरमा सात सय ४९, धनकुटामा आठ सय ६१, सोलुखुम्बुमा सात सय ९९, सङ्खुवासभामा नौ सय ४४ र खोटाङमा एक हजार एक सय ४७ गरी जम्मा १७ हजार आठ सय ३१ जना म्यादी प्रहरीमा भर्ना हुन पाउने छन् ।

म्यादी प्रहरीले ४० कार्य दिनको तलब ३० हजार दुई सय ४०, राशन भत्ता सात हजार दुई सय र पोशाक भत्ता ६ हजार गरी ४३ हजार चार सय ४० रुपैयाँ पाउने छन् ।

तस्बिर : बजार दैनिक

प्रतिक्रिया दिनुहोस्