एनआरएनएको दशौं महाधिवेशन चैत्र १० र ११ हुने


Bazar Dainik
22 March, 2022 2:33 pm

झापा, चैत ७ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन चैत्र १० र ११ काठमाडौंमा हुने भएको छ । मंगलवार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले चैत १२ र १३ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भने पनि केही परिमार्जन गरेर १० र ११ गते गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए। अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको बताए ।

त्यस्तै‚ अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा बृहत् आम सहमति गर्नुको विकल्प नभएको बताए । उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए ।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताए ।

त्यस्तै‚ अध्यक्ष पदकी प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो भएको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस्