क्रिप्टोकरेन्सी कारोबारको आशंकमा नायिका प्रियंका कार्कीको मोबाइल सीआईबीको नियन्त्रणमा
काठमाडौं चैत ६। नायिका प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको ब्यूरोका एक अधिकारीले बताए ।
ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेशनमा उनको तस्वीरसहितको विज्ञापन देखिएपछि सोधपुछका लागि कार्कीलाई ब्यूरोमा बोलाइएको थियो । त्यसक्रममा उनले आफूले क्रिप्टोकरेन्सीको कारोबार नगरेको बताएकी थिइन् ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले अवैध मुद्राको कारोबार गरे नगरेको यकिन भइनसकेकाले अनुसन्धानका लागि मोबाइल नियन्त्रणमा लिइएको छ । ती अधिकृतले भने, ‘उहाँको मोबाइलबाट विभिन्न एप्लिकेशनमार्फत् अवैध मुद्राको कारोबार भएको छ/छैन भनेर डिजिटल जाँच हुनेछ ।’
नायिका कार्कीले आफ्नो फोटो दुरुपयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको बताइन् । उनले भनिन्, ‘मैले दोषी पत्ता लगाएर कारबाही गर्न निवेदन पनि दिएकी छु ।’ कार्कीलाई प्रहरीले आवश्यकता परेको वेला हाजिर हुने गरी श्रीमान् आयुष्मान देशराज जोशीको जिम्मामा छाडेको छ ।