मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई रिहाई गर्न दबाब


Bazar Dainik
25 May, 2021 5:58 am

एजेन्सी, जेठ ११ / सेनाको नियन्त्रणमा रहेका अफ्रिकी मुलुक मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई तत्काल रिहाई गर्नका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

सङ्युक्त राष्ट्रसङ्घीय मिसनले उनीको तत्काल रिहाई हुनुपर्ने माग गरेको छ । सेनाले नियन्त्रणमा लिनु गलत भएको निस्कर्ष निकाल्दै उसले जतिसक्दो चाँडो मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाको कब्जाबाट मुक्त गर्नुपर्ने अवस्था रहेको बताएको छ ।

राजधानी बामाको नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति बाह एनदाव र प्रधानमन्त्री मोक्तार ओएनलाई नियन्त्रणमा लिएका हुन्।
सङ्युक्त राष्ट्रसङ्घीय मिसनले दुवै पक्षलाई शान्त रहन अपील समेत गरेको छ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिइएको खबरसँगै मालीमा पुनः सैनिक कू को सम्भावना बढेको छ । यस घटनाले वर्षदिन भित्रै दोस्रोपटक सैन्य कू को भय बढाएको हो। नौ महिनाअघि मालीमा पहिलो पटक सैन्य कू भएको थियो।

त्यहाँका रक्षा मन्त्रीलाई पनि सेनाले बन्धक बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अफ्रिकन युनियन, इकोनोमिक कम्युनिटी अफ वेष्ट अफ्रिकन स्टेट्स, युरोपियन युनियन र अमेरिकासहितले घटनाको निन्दा गरेका छन्। उनीहरुले सेनाको नियन्त्रणमा रहेकालाई तत्काल छाड्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्