अब २४ सै घन्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने
काठमाडौँ, फागुन २५ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले लामो समयदेखि व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।
गृह मन्त्रालयले होटल, रेस्टुराँ, डान्स/दोहोरी/क्लब, लाउन्जबार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ सै घन्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।
गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनहरुलाई २४ सै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउन पत्रचार समेत गरिसकेको छ ।
‘हामीले सबै जिल्लाका प्रहरी प्रशासनलाई व्यवसायीहरुको माग अनुसार २४सै घण्टा व्यवसाय खोल्न दिनु भनेका छौँ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।
पछिल्लो समय नेपालमा स्थान अनुसार काहीँ प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने काहीँ स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो ।