नोबेल मेडिकल कलेजका विद्यार्थी रिले अनशनमा


Bazar Dainik
3 March, 2022 5:20 pm

काठमाडौँ, फागुन १९ ।नोबेल मेडिकल कलेजका विद्यार्थीले अरू शिक्षण अस्पतालमा स्थानान्तरणको माग राख्दै बिहीबार माइतीघर मण्डलामा रिले अनशन शुरु गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा पास गरी नोबेल मेडिकल क्याम्पसमा एमबिबिएस पढ्ने १० जना विद्यार्थीले अनशन शुरु गरेका हुन् । उक्त कलेजले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएको छ ।

सरकारी नियम नमान्ने क्याम्पसबाट अरू शिक्षण अस्पतालमा पढ्न पाऊँ भनी स्थानान्तरण गर्न सरकारसँग माग राख्दै भोक हडताल तथा धर्ना शुरु गरेका हुन् ।

उनीहरूले विगत ८० दिनदेखि निरन्तर रूपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको विद्यार्थी बताउँछन् ।

नोबेल मेडिकल क्याम्पसका अनशनरत विद्यार्थी रूपेश पौडेलले चिकित्सा शिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबिबिएस पढाउन भने पनि नोबेल कलेजले बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए ।
उनले नोबेल कलेजले बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनका लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे ।

धेरै विद्यार्थीले आत्मसमर्पण गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० जना विद्यार्थीले भने शिक्षण अस्पतालमा स्थानान्तरणका लागि रिले अनशन बसेको जानकारी दिए ।

रिले अनशनमा विद्यार्थीहरूले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर, २०१५÷१६ ब्याचका विद्यार्थी इन्टर्नसिपको व्यवस्थापन छिाटो गर, हाम्रो न्यायोचित माग सम्बोधन गर, विद्यार्थीको भविष्य सुनिश्चित गर, सुरक्षित स्थानमा पढ्ने वातावरण बना, डे ८० स्थानान्तरण गरियोस् भन्ने प्लाकार्ड राखेर अनशनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्