सहकारीमा जम्मा भएको पैसा लिएर अध्यक्ष भागेपछि…


मनिषा चम्लागाईं
12 February, 2022 9:12 pm

झापा, माघ २९ । दमक नगरपालिका –७स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल फरार भएका छन् । सहकारीको ८० लाख रुपैयाँ बढी रकम लिएर खनाल गत मंसिरदेखि फरार भएको सहकारीका सदस्यले बताएका छन् ।

दमक–८ का खनाल उपचार गर्न काठमाडौँ जाने भनेर फरार रहेका छन् । उनले सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाखभन्दा बढी ऋण रकम लिएर फरार भएको बिषय बाहिरिएको हो ।

संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि अध्यक्ष खनाल सम्पर्कविहीन भएको सहकारीका सदस्य दमक ८का ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । “म गत १ वर्षदेखि सहकारीको सदस्य रहेको छु” श्रेष्ठले बजार दैकिनसँग भने “फिक्स डिपोजिट ३ लाख रुपैयाँ, खातामा राखेको १२ लाख लाख रुपैयाँ र बचत गरेर जम्मा १८ लाख रुपैयाँ रकम रहेको थियो । खनालले विश्वास बढाउँदै लगेपछि कारोबार पनि बढाएँको थिए” ।

“खनाल मंसिर पोहिलो हप्तासम्म त सम्पर्कमा नै थिए । मैले फोन गर्दा बिरामी परेँ, घर बेचेर भएपनि सबैको पैसा तिर्छु भन्ने जवाफ दिए” श्रेष्ठ भन्छन्, “अहिले घर लिलामका लागि बैंकले सूचना निकालेको रहेछ । दमकमा नै रहेको किराना पसल पनि बिक्री गरिसकेका रहेछन् ।”

सहकारीका व्यवस्थापक ललिता तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूह गत पुस १ गते नै दमक नगरपालिकाको सहकारी समन्वय शाखा, इलाका प्रहरी कार्यालय दमकमा आवश्यक कारवहीको मागसहित निवेदन दिएका छन् ।

खनालले कोरोना महामारीको कारण भन्दै सहकारीको गत वर्षदेखि साधारण सभासमेत गरेका थिएनन् । अध्यक्ष बेपत्ता भएपछि विगत ४ वर्ष अघिदेखि सञ्चालनमा आएको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ ।

सहकारीका सदस्य कमल गाउँपालिकाका–४का दुरेन्द्र बहादुर नेम्बाङ सम्बन्धित निकायले आवश्यक कारवाहीको पहल नगरेको बताउँछन् । “हामीले कारवाहीका लागि विभिन्न निकायलाई गुहारे पनि कुनै सुनुवाई भएको छैन” उनले भने । नेम्बाङ विगत डेढ वर्षदेखि सहकारीको सदस्य बनेका थिए ।

पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लख, दमक–५ का राजु गौतमको चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको ६ लाख रूपैयाँ सापटी रकम लिएर खनाल फरार भएका हुन् । उनी श्रीमती र छोरीसहित फरार छन् ।

प्रतिक्रिया दिनुहोस्