कोरोना नियन्त्रणमा ६ महिनामा १० अर्ब खर्च


Bazar Dainik
11 February, 2022 2:16 pm

झापा, माघ २८ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउन–पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ ।

यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको तथ्यांक छ ।
सो आवमा प्रदेशले २ अर्ब २८ करोड ४७ लाख र स्थानीय सरकारले २९ करोड ७८ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्