‘कृषि व्यवसायमा सम्भावनाको बाटो देखाइरहेका छौं’


मनिषा चम्लागाईं
29 January, 2022 3:56 pm

झण्डै तीन दशकअघि झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टाका केही स्थानीय जुर्मुराएपछि स्वतःस्फूर्त रुपमा भएको बचत संकलनबाट स्थापना भएको नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) अहिले देशकै नमूना सहकारीहरुमध्येमा पर्छ । २०५० सालबाट सेवा थालेको एनएमसीले अहिले प्रदेश १ को झापा, मोरङ र इलामलाई मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।

११ अर्ब ८० करोड ५३ लाख रुपैयाँ कुल वासलात रहेको संस्थामा १ लाख १५ हजार बढी सदस्य छन् । विभिन्न व्यवसायको माध्यमबाट सदस्यलाई रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था मजबुत बनाउनेतिर जोड दिने भएकाले एनएमसीप्रति आकर्षण बढेको हो । अहिले एनएमसीले वित्तीय व्यवसायसँगै डेरी, एकीकृत नमूना कृषि फर्म, सुपथ सहकारी पसल र चिया प्रशोधन व्यवसाय पनि अघि बढाइरहेको छ ।

कृषिमा जोड दिँदै एनएमसीले सञ्चालनमा ल्याएको डेरी व्यवसाय र एकीकृत नमुना कृषि फर्मका विषयमा केन्द्रीत रहेर सहकारी विकास बोर्डका सदस्य समेत रहेका एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीसँग गरिएको कुराकानीको सार :

एनएमसी डेरी उद्योगको परिकल्पना कसरी गर्नुभयो ?

पशुपालन सजिलो व्यवसाय हो । तर, उत्पादित दूधले बजार नपाएको गुनासो कृषकबाट आएपछि वि.स. २०६८ सालदेखि डेरी उद्योग सञ्चालनको प्रक्रिया अघि बढायौँ । हामीसँग मेचीनगर–८, इँटाभट्टामा संस्थाको जग्गा थियो । ५ करोडसम्म लगानी गर्ने उद्देश्य राखेर संस्थाले संरचना निर्माण सुरु गरेको थियो । काम गर्दै जाँदा संरचना निर्माण, प्रशोधन र प्याकेजिङ मेसिन खरिदमा लगानी बढ्यो ।

यसरी २०७२ सालमा आइपुग्दा हामीले किसानबाट दूध संकलन गरी प्रशोधनसमेत सुरु ग¥यो । एनएमसीसँग भएको मेसिनले प्रतिघण्टा ३ हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्छ । प्रशोधित दूधलाई चिलिङ गर्ने, कोल्ड गर्ने, विभिन्न किसिमका प्रोडक्ट बनाउने, बजारसम्म पु¥याउने, स्टोर गर्ने काममा पनि लगानी थप भयो । यो समयसम्म आइपुग्दा हाम्रो लगानी ८ करोड रुपैयाँ बढी पुगिसकेको थियो ।

त्यस समयमा दूधको गुणस्तर नाप्ने ‘मिल्क क्यानलाइजर’को प्रयोग नै थिएन । डीडीसीले पनि इलामबाट मात्र दूध संकलन गर्दथ्यो । झापामा दूधको उत्पादन नै थिएन । उत्पादन भएपनि बजारसम्म ल्याउने संयन्त्र थिएन । झापामा दूध संकलन केन्द्र थिएनन् । हामीलाई एउटा गोठबाट २० लिटर दूध खरिद गर्न बिहान बेलुका नै धाउनुपर्ने बाध्यता थियो । त्यसले हाम्रो लागत बढ्यो । त्यससमयमा बजारमा प्रशोधित दूधका बारेमा अनेकन भ्रम थिए ।

हाम्रो उत्पादनका बारेमा पनि स्वभाविक रुपमा केही विरोध भए । दूध दोएको ३ घण्टा भित्रमा प्रशोधन नगरे बिग्रने डर । हामीले दूध, दही, मोही, नौनी घ्यू, पनिर, आइक्रिम बजारमा ल्याएका थियौँ । बजारमा गुणस्तर कायम गर्नुपर्ने, ग्राहकको मन जित्नुपर्ने तमाम कुरालाई सामना गर्दै अघि बढ्यौँ । सुरुका ३ वर्षसम्म प्रत्येक वर्ष १ करोड बराबरको घाटा बेहोर्नु पर्यो । तर, एनएमसी पछाडी फर्कने अवस्थामा थिएन । हामीले लगानी गरिसकेका थियौँ ।

यसरी आजको दिनसम्म आइपुग्दा हामी प्रतिदिन १५ हजार लिटर दूध संकलन गर्ने गरेका छौँ । हामीले सदस्यलाई प्राविधिक सहयोग गरेर दूध संकलन केन्द्रको स्थापना र विस्तार ग¥यौं । जसकारण हामी र किसान बीचको सेतुको काम दूध संकलन केन्द्रले गरिरहेका छन् । दूधको उत्पादन रहेको र कसैले संकलन केन्द्र नखोलेको अवस्थामा हामी आफैँले पनि संकलन केन्द्र खोलेका छौँ । आज झापामा ६० वटा दूध संकलन केन्द्रको नेटवर्क छ । ती संकलन केन्द्रले अरु डेरीलाई पनि दूधको बिक्री गर्दै आएका छन् । झापाका २० वटा सहकारीले दूध संकलन गरेर हामी कहाँ पठाउनु हुन्छ । हामीसँग ४५ सय किसान प्रत्यक्ष रुपमा जोडिनु भएको छ । आज उहाँको बजारसमेत सुरक्षित भएको छ । अहिले डीडीसीसमेत दूध खोज्नका लागि झापामा आउने गर्दछ ।

व्यवसायले राम्रो गति लिइरहेका वेला कोभिड–१९ भाइरसको महामारी आयो, फेरि संक्रमण दर बढ्दो छ । विगतमा कसरी किसानको दूध संकलन गर्नुभयो ? अहिले कसरी गर्दै हुनुहुन्छ ?

कोरोना महामारीबाट हामी पनि अछुतो रहन सकेनौँ । महामारीको कारण दूध संकलनमा केही बाधा पुग्¥यो । दुईचार लिटर दूध उत्पादन गर्ने किसानलाई तपाईँहरु खानुहोस्, बजार छैन भन्न बाध्य हुनुपर्यो । व्यवसायिक कृषक मारमा पर्नसक्ने कुरालाई मध्यनजर राख्दै उहाँहरुले उत्पादन गरेको दूध हामीले जुनसुकै अवस्थामा पनि खरिद ग¥यौं । त्यसकारण ५० लिटर, १ सय लिटर, २ सय लिटर दूध उत्पादन गर्ने किसानहरु निरास हुनु परेन । पुनः ओमिक्रोनको संक्रमणदर बढ्दो क्रममा छ तर, हामी किसानले उत्पादन गरेको दुध ढुक्कसँग खरिद गर्नेछौँ ।

हामीले गुणस्तरमा कुनैपनि सम्झौता गरेनौं । आजपनि बजारमा हाम्रो गुणस्तर सबैभन्दा माथि छ । गुणस्तरको हिसाबले सबैभन्दा माथि रहेको भन्दै नेपाल सरकारले खाद्य मेला मार्फत् हामीलाई पटकपटक सम्मान गरेको छ । चौथौँ वर्षदेखि आज सातौँ वर्षसम्म आइपुग्दा हामी वित्तीय हिसाबले पनि सुरक्षित छौँ । हाम्रो लगानी १५ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको छ । हाम्रो लक्ष्य नेपाली दाजुभाइलाई रोजगारी उपलब्ध गराउने पनि हो । त्यसमा हामी सफल भएका छौँ ।

आर्थिक वर्ष २०७६\७७ मा कोरोना माहमारीकै बीच पनि हामीले ४१ लाख रुपैयाँ नाफा ग¥यौं । आर्थिक वर्ष २०७७\७८ मा १ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य राखेका थियौँ । त्यसमा ८९ लाख नाफा गर्न डेरी सफल भयो । यो वर्ष हामीले १ करोड ८० लाख बराबर नाफा गर्ने लक्ष्य राखेका छौँ । मंसिरसम्मको तथ्यांक हेर्ने हो भने ५७ लाख रुपैयाँ नाफा गरिसकेका छौँ । एनएमसीले कृषकलाई संरक्षित पुँजी कोषको पैसा फिर्ता गर्दै छ । यसपालि हामीले ४५ लाख रुपैयाँ संरक्षित पुँजी कोषको रकम फिर्ता गर्दैछौँ ।

हामीले प्रदेश सरकारको सहयोगमा दूध पाउडर प्लान्ट निर्माण सुरु गरेका छौँ । सरकारले भारतबाट हुने पाउडर आयात बन्द गरेकाले नेपालमा उत्पादित पाउडरले बजार पाउन थालेको छ । सम्भवतः साउनसम्म पाउडर प्लान्ट सञ्चालन गछौँ । हामी युएसडी प्रविधिको योजनामा पनि छौँ । जसले ९० दिनसम्म दूधलाई सुरक्षित गर्न सक्छ । अहिले डेरी उद्योगमा मात्र ७८ जना नेपाली नागरिकले रोजगारी पाएका छन् ।

एनएमसीले कृषि क्षेत्रमा केके गरिरहेको छ ?

एनमएसीले वि.स. २०७५ माघदेखि एकीकृत नमुना कृषि फर्म पनि सञ्चालनमा ल्याएको छ । संस्थाको कोषमा भएको रकम हामीले कृषिमा पनि लगाएका हौँ । मेचीनगर नगरपालिका –१४ दुवागढीमा १६ विगाह जग्गा खरिद गरी कृषि फर्म सञ्चालनमा ल्याएका छौँ ।

नमुनाको रुपमा गाईपालन, माछापालन, फलफुल तथा तरकारी खेती, तरकारीका बेर्ना बैंक, किसानलाई तालिम, कस्टम हायरिड् सेन्टर सञ्चालन, बेल साईलेज उत्पादन, गरा सुधार कार्यक्रम, चक्लाबन्दी खेती गर्दै आएका छौँ ।

जैविक विधिबाट खेती गर्ने हुनाले अहिलेसम्म नाफामा जान सकेका छैनौँ । घाटाको पिरियड बढोस् हामी त्यसका लागि तयार छौँ । तर, हाम्रा उपभोक्तालाई विष खुवाउँदैनौँ । हामी रासायनिक मल प्रयोग गर्दैनौँ । हामी उत्पादनमा पनि सन्तुष्ट छौँ ।

नमुना खेतीमार्फत् कृषकलाई कसरी जोड्नु भएको छ ?

कृषिमा आधुनिक प्रविधिको प्रयोग, कृषकलाई कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने, अग्र्यानिक कृषि उत्पादनमा जोड दिने एनएमसीको मुख्य लक्ष्य हो । हामी जतिपनि उत्पादन गरिरहेका छौँ, नमुनाको रुपमा गर्दै आएका छौँ । विभिन्न किसिमका बाली लगाएर प्रयोग गर्ने र सफलतापछि किसानलाई सम्भावनाको बाटो देखाउने गरिरहेका छौं । कृषि व्यवसायप्रति जाँगर र अभिरुचि बढाउने गरी काम गरिरहेका छौं । अहिले पनि हामीले फर्सी, करेला, आलु, कोपी, चुकन्दर, बोडी, सिमी, काँक्रा, गोलभेडा, खुर्सानी उत्पादन गर्दै आएका छौँ ।

वीउको छनोट कसरी गर्ने, बेर्ना कसरी उत्पादन गर्ने, माटो कसरी तयार पार्ने, रोगबाट कसरी बच्ने भन्ने ज्ञान हाम्रा प्राविधिकमार्फत् कृषकलाई दिँदै आएका छौँ । तर, उत्पादन मात्र गरेर पुग्दैन, उत्पादनलाई बजारसँग जोड्नु पर्छ । अहिले किसानले उत्पादन गरेका कृषि उपज हामी बजारीकरण गरिरहेका छौँ । कृषि उत्पादन उपभोक्ताको घर–घर पुगेर बिक्री गरिरहेका छौँ । एनएमसीको उत्पादन भनेपछि कृषकहरु पनि पर्खेर बस्ने वातावरण बनिसकेको छ । कुनै समयमा धेरै बाली उत्पादन भए, खुद्रा बिक्रेतामार्फत् पनि हामी तरकारी बेच्दैँ आएका छौँ ।

हाम्रो उत्पादनलाई बेग्लै पहिचानका साथ बिक्री गर्न सकिरहेका छैनौँ । निकट भविष्यमा नै एनएमसीको उत्पादनलाई ग्रेडिङ, लेबलिङ र ब्रान्डिङ गर्ने काम गर्ने छौँ । त्यसका लागि हामीलाई ‘कोल्डरुम’ चाहिन्छ । हामी कोल्डरुम निर्माण गरिरहेका छौँ । हामीले १२ वटा एनएमसी पसल सञ्चालनमा ल्याएका छौँ । थप ५ वटा सञ्चालनमा आउने प्रक्रियामा छन् । ती १७ वटै पसलमा एनएमसी एग्रो मार्ट मार्फत् उत्पादनको बजारीकरण गर्नेछौँ ।

एसएमसीले कृषिमा प्रविधिको प्रयोगलाई पनि जोड दिइरहेको छ, यान्त्रिकीकरणको प्रयोग के–केमा गरिरहनु भएको छ ?

कृषिमा सबै भन्दा धेरै लागत जनशक्तिमा हुन्छ । ज्यालादारीमा मानिस लगाउनु परे मंहगो पर्छ । रोप्ने, गोड्ने, ड्याङ मिलाउने, काट्ने, झार्ने सबै काममा उकरण आवश्यक छ भन्ने महसुस हामीले ग¥यौं । अहिले तरकारी बारीमा ड्याङ बनाउने मेसिन, मकै रोप्ने मेसिन, धान काट्ने मेसिन लगायत उपकरण खरिद गरी ‘कष्टम हायरिङ’ सञ्चालन ल्याएका छौँ ।

यी उपकरण हाम्रा लागि मात्र नभएर सहुलियत मूल्यमा यस क्षेत्रका किसानलाई उपलब्ध गराउँदै आएका छौँ । ताकि, किसानको उत्पादन लागत कम होस् र कृषिप्रति आर्कषण बढोस् । कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता हो । कृषि विज्ञान हो । यसबाट व्यवसायिक बन्न सकिन्छ भन्ने नमुना हामी यहाँबाट देखाउन चाहान्छौँ ।

गाईपालन व्यवसाय कसरी गर्दै आउनु भएको छ ?

एनएमसीले डेरी उद्योग सुरु गरेसँगै किसानसँग प्रत्यक्ष रुपमा जोडियौँ । किसानले दूधको मूल्य बढाउन माग गर्ने तर, बजारले दूधको मूल्य घटाउनु पर्छ भन्ने माग गर्ने । यो बीचमा दूधको मूल्य वृद्धि मात्र समस्याको समाधान हुँदैन भन्ने ज्ञान मिल्यो । यसपछि हामी दूधको उत्पादन लागत कम गर्ने उपायका विषयमा कृषकसँग बसेर छलफल ग¥यौं । तर, त्यसले खास नतिजा दिएन । किसानले त्यसलाई अनुशरण गरेनन् । परम्परागत शैलीबाटै गाईपालन गरे, ठूलो लगानी गर्न सकेनन् । कारण के हो भने नयाँ पुस्ता गाईपालनमा आएन । पुरानो पुस्ताले नयाँ प्रविधि अनुशरण गर्न सकेनन् । त्यसो हुँदा हामी आफैँ नमूना गाई फर्म सञ्चालनमा होमियौँ ।

हामीले भारतको पञ्जाबबाट रेडकेट फर्मका, ७ महिनादेखि १६ महिनासम्मका ५० वटा रेकडेट बाछी ल्याएका हौँ । ती बाछी मध्ये १० वटा ब्याएर गाई बनिसकेका छन् । अरु ब्याउने क्रममा छन् । हामीले आधुनिक प्रविधिबाट मिल्किङ पार्लर राख्ने, फिडिङमा त्यही अनुरुपको व्यवस्था गर्ने, लुज हाउजिङ सिस्टमबाट गाईपालन गर्ने, वर्षभरी साइलेस खुवाउने, दाना क्यालसियमको व्यवस्था गरी गाईपालन गर्दै आएका छौँ । अहिले एउटा गाईले प्रतिदिन अधिकतम २४ लिटरसम्म दूध दिदैँ आएको छ । हामीलाई विश्वास छ यी गाईले यही बेतमा ३० लिटरसम्म दूध पु¥याउने छन् । अर्को बेतमा यो स्वतः बढेर जान्छ ।

नेपालमा कृषि क्षेत्रका लागि समस्या के पाउनु भयो, सरकारी निकायबाट कस्तो सहयोग पाउनु भएको छ ?

म सधैँ भन्दै आएको छु कृषि विज्ञान हो । यहाँ कृषि पढेका मानिस पनि चाहिन्छ । तर, पढेका मानिस खेतको आलीमा बसेर काम अह्राउने होइन, गराभित्र पसेर काम गर्ने हुनुपर्छ । एनएमसी नमुना कृषि फर्ममा ४ जना कृषि जेटिए र २ जना भेटेरिनरी जेटिए कार्यरत हुनुहुन्छ । उहाँहरु कृषि मजदूरसँगै काम गर्नुहुन्छ । मजदुरलाई तरिका बताउनुहुन्छ । कृषिमा काम गर्ने जनशक्ति पाउन गाह्रो हुन्छ । अहिले हामीले काम गर्ने जनशक्तिको विकास गर्दै लगेका छौँ ।

साथै, कृषि व्यवसायका लागि सबैभन्दा पहिले लगानी गर्न सक्नुपर्ने रहेछ । हामीले कोषमा भएको पैसा कृषिमा लगानी गरेकाले त्यसको ब्याज तिर्नु परेन । जग्गा पनि आफैँ खरिद गरेकाले भाडा पनि तिर्नु परेन । अहिलेपनि कृषि व्यवसायमा हामीलाई घाटा छ । यो वर्षपनि हामी घाटा बेहोर्दै छौँ । आगामी वर्षदेखि चाहिँ सन्तुलनमा पुग्छौँ । हामीले जैविक विधिबाट खेती गरेकाले हाम्रो घाटाको समय बढ्न सक्छ ।

कृषिमा हामीलाई सरकारी पक्षको सहयोग कष्टम हायरिङ सञ्चालनमा १ करोड १५ लाख रुपैयाँ छ । कष्टम हायरिङमा हाम्रो कुल लगानी २ करोड ४५ लाख पुगेको छ । गाई फर्ममा १ करोड रुपैयाँ सरकारले अनुदान छ । जब कि गाई फर्ममा हामीले ३ करोड बढी लगानी गरिसकेका छौँ । यसरी सरकारले सहयोग गर्दा हामीलाई अझ सहयोग पुगेको छ । तर, अनुदान आएन भने काम नगर्ने अथवा आउन छाडे काम नगर्ने भन्ने पक्षमा हामी छैनौँ । हामी आफ्नै पुँजीबाट यसलाई अगाडि बढाएर जान तयार छौँ ।

प्रतिक्रिया दिनुहोस्