मेची अस्पतालमा अक्सिजन प्लान्ट थप


Bazar Dainik
23 January, 2022 7:16 pm

झापा, माघ ९ । झापाको भद्रपुरस्थित मेची अस्पतालमा अक्सिजन प्लान्ट थप गरिएको छ । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा १ सय १० सिलिन्डर उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरेको हो ।

चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल लगायतको उपस्थितिमा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । चिकित्सक संघको पहलमा चुजी फाउन्डेसन ताइवानले मेचीलाई अक्सिजन प्लान्ट सहयोग गरेको सङ्घका केन्द्रीय अध्यक्ष डा. कार्कीले जानकारी दिए ।

मेचीमा जडित अक्सिजन प्लान्टबाट एकै साथ धेरै सिलिन्डर उत्पादनका लागि बुस्टर जडान आवश्यक रहेको छ । बुस्टर जडानका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने नेता सिटौलाले बताए । त्यसका लागि आफूले पनि पहल गर्ने उनको भनाइ छ ।

मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.टङ्कप्रसाद बाह्रकोटीले अक्सिजन प्लान्टको बारेमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्