मिटर अभावले सेवाग्राही खाली हात


Bazar Dainik
22 January, 2022 5:11 pm

झापा, माघ ८ । विद्युत खपत बढाउन आग्रह गरिरहने नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई मिटर दिन छोडेको छ । अभाव भएको भन्दै नयाँ मिटर जोड्न प्राधिकरणको कार्यालयसम्म पुग्ने सेवाग्राही खाली फर्किनुपरेको छ ।

मिटर अभावले धेरैले नयाँ लाइन जोड्न पाएका छैनन् । मिटर अभाव भएको केही महिना भइसकेको छ । अभाव भएकै कारण वितरण केन्द्रहरुले मिटर सकिएको भन्दै सेवाग्राहीहरुलाई फर्काउने गरेका छन् । सेवाग्राहीहरुलाई फर्काउनु परेका कारण पछिल्लो समय ठूलो सङ्ख्यामा मिटरको माग रहेको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले मिटरको समस्या छिट्टै हल हुने दाबी गर्छन् । उनका अनुसार सात लाख मिटर ल्याउन सम्झौता भइसकेको छ । फ्रेब्रुअरी दोस्रो साताबाट मिटर आउन थाल्नेछ । त्यसपछि मागअनुसार मिटर दिन सुरु गरिनेछ ।

प्राधिकरणले सात लाख नयाँ मिटर ल्याउन भारतीय कम्पनी पावर इन्फ्रास्ट्रक्चर इण्डिया इनर्जीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार आगामी चार महिनाभित्र उक्त संख्यामा मिटर आउनेछ । एक महिनापछि मात्र ५० हजार मिटर आइपुग्ने सिलवालले बताए । त्यसपछि प्रत्येक महिना एक लाखका दरले मिटर आउने उनको जिकिर छ ।

प्राधिकरणले करिब ६० लाख अमेरिकी डलरमा भारतीय कम्पनीसँग मिटर आपूर्तिको सम्झौता गरेको हो । यसका आधारमा एउटा मिटरलाई ९ देखि १० अमेरिकी डलरसम्म पर्ने अनुमान गरिएको छ । प्राधिकरणमा वर्षेनी तीन लाख नयाँ सेवाग्राही थपिने गरेको तथ्यांक छ । सोही अनुपातमा मिटरको माग हुने गर्छ ।

अघिल्ला वर्षहरुमा यसरी थपिने ग्राहक संख्याले पनि प्राधिकरण व्यवस्थापनलाई खरिदका लागि आवश्यक पर्ने नयाँ मिटर संख्याको मोटामोटी अनुमान हुने भए पनि यसले बेलैमा प्रबन्ध गर्न भने नसक्दा यतिबेला थुप्रै उपभोक्ताहरुले बिजुलीको नयाँ लाइन जोड्न पाएका छैनन् । समयमा ठेक्का निकाल्न नसक्नु, निकालिएको ठेक्का पनि रद्द गर्नुपरेको लगायत विभिन्न प्राविधिक कारणले मिटर खरिदमा ढिलाइ भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्