‘नतिजा प्याकेजिङ’ नामक कम्पनीद्वारा ‘नक्कली मह’ उत्पादन


Bazar Dainik
21 January, 2022 3:24 pm

झापा, माघ ७ । काठमाडौंका विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । कुँवरका अनुसार श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएका थिए ।

त्यो कम्पनीले ‘स्पर्श हनी’ नामको लेबल टाँसेर बिक्री वितरण गर्ने गरेको थियो । कुँवरका अनुसार त्यस्तो मह काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्री हुन्थ्यो ।

श्रेष्ठले मह बनाउँदा ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट गर्ने गरेको खुलेको छ ।

स्पर्श हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा गुणस्तर अनुरुप नरहेको र खान योग्य नरहेको खुलेको कुँवरले बताए ।

श्रेष्ठको पसलबाट ६०० किलो तयारी मह, ६ हजार ५ सय किलो कच्चा र गुणस्तरहीन मह, ग्लुकोज ५ सय किलो, चिनी एक सय किलो, जोख्ने मेसिन, सिल मेसिनलगायत बरामद भएको छ ।

श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्