इलामदेखि ताप्लेजुङसम्म हिमपात


Bazar Dainik
20 January, 2022 7:42 pm

झापा, माघ ६ । पूर्वी पहाडी जिल्लामा बुधबार हिमपात भएको छ । इलाम, पाँचथर र ताप्लेजुङसम्मको विभिन्न स्थानमा हिमपात भएको हो ।
इलामको कन्याम, सन्दकपुर क्षेत्रमा हिउँ परेको पत्रकार नमिन ढकालले जानकारी दिए । त्यस्तै, पाँचथरको सुकेटार, चारराते, चिवाभञ्जाङ क्षेत्रमा हिउँ परेको पाँचथरका पत्रकार भिम बाँस्कोटा बताउँछन् ।

ताप्लेजुङको पाथिभरा क्षेत्रमासमेत आज तेस्रो पटक हिमपात भएको ताप्लेजुङका व्यवसायी तथा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तारानाथ घिमिरेले बजार दैनिकलाई जानकारी दिए । समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको घिमिरेले बताए ।

त्यस्तै, समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका ७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरुमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएको घुन्साका स्थानीय बताउँछन् ।

हिमपातले जनजीवन प्रभावित हुनका साथै पशु चौपाया समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाको भनाइ छ । हिमपात भएसँगै पूर्वी जिल्लामा चिसो बढेको छ ।

तस्बिरहरु : नमिन ढकाल, तारानाथ घिमिरे, मिलन पौडेल ।

प्रतिक्रिया दिनुहोस्