व्यवसायिक बाख्रापालनलाई उत्पेरित गर्न शिवशताक्षीद्वारा बोका वितरण


Bazar Dainik
18 January, 2022 11:52 am

बिर्तामोड माघ ४ । व्यवसायिक बाख्रापालनलाई उत्प्रेरित गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकाले उन्नत जातको बीउ बोका वितरण गरेको छ । पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी – ४ र ५ को विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहलाई नश्ल सुधारका लागि शतप्रतिशत बोयर जातको बीउ बोका प्रदान गरेको छ । समूहमा आवद्ध ३० जना किसानलाई बोका प्रदान गरिएको शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

समूहकै सक्रियतामा किसानले चितवनको माडीबाट बोका खरिद गरेको विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहले जनाएको छ । यी बोका ६ महिनाअघि मात्र अफ्रिकाबाट चितवन हुँदै शिवसताक्षी आएको समूहका अध्यक्ष भोला मैनालीले बताएका छन् । यसका लागि नगरपालिकाले ६ लाख खर्च गरेको छ भने समूहले १ लाख ५० हजार खर्च गरेको छ ।

८० प्रतिशत अनुदानमा दिइएको बोकाबाट समूहमा आवद्ध किसानले पालेका बाख्राको नश्ल सुधार हुने र उनीहरूको जीवनस्तर माथि उकास्न टेवा पुग्ने नगरपालिकाले विश्वास गरेको छ । समूहले २० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालन गरेको हो। समूहका सदस्य भानु विमलीका अनुसार समूहले १ लाख ५० हजार लगानी गरेको छ ।

बोका वितरणको लक्ष्य परम्परागत बाख्रापालनलाई क्रमश ः व्यवसायिक बनाउँदै लैजानु र उत्पादनलाई बढवा दिई कृषकको आर्थिक अवस्थालाई उकानु रहेको नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए । बााख्रापालन व्यवसाय थोरै लागनी, सजिलो पेशा भएको र राम्रो आयआर्जन गर्न सकिने भएकाले किसानलाई हौसला दिन यो आयोजना सञ्चालन गरिएको नगर प्रमुख शेर्मा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्