गाउँपालिका, नगरपालिका र जिसस महासंघद्वारा स्थानीय तहको चुनाव गर्न माग


Bazar Dainik
17 January, 2022 2:03 pm

झापा, माघ ३ । स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न जनप्रतिनिधिहरूको तीन वटा संस्थाले माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन प्रक्रिया सुरू गर्नुपर्ने उल्लेख गरेका हुन् ।

जेठभित्र स्थानीय तहको निर्वाचन गरिसक्न उनीहरूको माग छ । संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ ले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकोले तत्काल निर्वाचनको मिति तय गर्न उनीहरूले माग गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिसस महासंघ अध्यक्ष नवराज गेलालले आज निकालेको विज्ञप्तिमा तोकिएको समयमा नै आवधिक निर्वाचन गरिनुपर्ने बताएका हुन् ।

“निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भीर ध्यानाकर्षण गर्दछौँ” संयुक्त विज्ञप्तिमा भनिएको छ । आफूहरूले समयमा नै निर्वाचन होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उनीहरूले बताएका छन् ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ । तर सरकारले निर्वाचन मिति घोषणा भने गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्