नाकामा घर फर्कनेको लर्को, संक्रमित सिधैँ पठाइन्छ घर


Bazar Dainik
13 January, 2022 9:20 pm

मनिषा चम्लागाईँ ।

झापा, पुस २९ । सुनसरीको इनरुवाका जनार्दन सुनुवार केही दिन अघि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरे । नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । प्रोटोकल अनुसार एन्टिजेन पोजेटिभ आएपछि शंकास्पद मानेर छुट्टै राख्दै पिसीआर जाँच गर्नुपर्ने थियो ।

तर, स्थानीय प्रशासनले होल्ड गरेन । बरु गाडी रिजर्भ गरेर घर जान र त्यतै थप परीक्षण गर्न निर्देशन दियो । सुनुवार भन्छन्, “तीन दिनसम्म त घरमै आइसोलेसनमा बसेँ, तर कुनै लक्षण नदेखिएपछि बाहिर निस्किन थालिसकेको छु ।”

धनुषाको ढल्केबरका २१ वर्षीय राजेशकुमार झा बागडुग्रामा काम गर्थे । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि उनी पनि स्वदेश फर्किए । काँकरभिट्टामा उनको एन्टिजेन जाँच पोजेटिभ आयो । तर, उनलाई न आइसोलेसनमा राखियो, न थप जाँच नै गरियो ।

“प्रशासनले घर जान भन्यो, ७ हजारमा खर्च गरेर फर्किएँ” उनी भन्छन्, “बरु यहीँ राखिदिएको भए धेरै खर्च हुने थिएन, घरमा पनि डर हुने थिएन होला ।” मुलुक भर नेपाल–भारत सीमा क्षेत्रका ७ स्थानमा सरकारले होल्डिङ सेन्टर बनाउने भनेको छ । काँकरभिट्टामा पनि नेपाली सेनाले भौतिक संरचना बनाइरहेको छ । तर, हालसम्म सञ्चालनमा नआउँदा एन्टिजेन जाँचमा पोजेटिभ देखिएका मजदूरहरु महँगो खर्चमा घर फर्किन बाध्य भइरहेका छन् ।

“चेकिङमै थामिनसक्नु भिड छ, सामाजिक दूरिको कुरै नगरौं” बर्दियाको बुलरिया नगरपालिका–१ का ५८ वर्षीय बलबहादुर राना भन्छन्, “कोरोना नलागेकालाई पनि यहीँबाट सर्ला भन्ने जोखिम छ ।” कोरोना संक्रमण बढेसँगै राना जस्तै रोजगारी, अध्ययन, उपचार लगायतको सिलसिलामा भारतमा गएका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।

पछिल्लो एक सातामा मात्रै काँकडभिट्टा नाकाबाट करिब १७ हजार नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये संकास्पद ५ सय २० जनालाई परीक्षण गर्दा ४९ जनामा कोरोनाको भाइरस पुष्टि भएको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाकी अहेब दिब्या भट्टराई बताउँछिन् । काँकरभिट्टा नाकाबाट आउने कोरोना शंकास्पद मानिसहरुलाई मेचीनगर नगरपालिकाले हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गराउँदै आएको छ । तर संक्रमण पुष्टि देखिएका व्यक्तिहरु कहाँ छन् भन्ने नगरपालिकालाई थाहा छैन । जनस्वास्थ्यविद्हरुका अनुसार नाकामा जाँच पछि संक्रमण देखिएकालाई पनि सिधैँ घर पठाउने गरिँदा गाउँगाउँमा संक्रमण फैलिने जोखिम बढ्दो छ ।

अहेब भट्टराई पनि परीक्षण पश्चात उनीहरुलाई होम आइसोलेसनमा बस्न सुझाव दिइँदै आएको स्वीकार्छिन् । घरमा पनि बसे÷नबसेको निगरानी नहुँदा भने कोरोना पुष्टि भएका व्यक्ति खुलेआम हिँडिरहेका छन् । सीमा नाकाबाट आउने शंकास्पद व्यक्तिको जाँच र उपचारका लागि भन्दै सरकारले बनाउन थालेको होल्डिङ सेन्टर चाहिँ अझैसम्म बनिसकेको छैन ।

होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई छ । तर, महामारीको दोस्रो लहर सुरु हुँदा बनाउन थालिएको होल्डिङ सेन्टर तेस्रो लहर सुरु हुन लाग्दा पनि तयार भइसकेका छैनन् । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्याल बजेट अभाव र समयमा जग्गा प्राप्ती नहुँदा निर्माणमा केही ढिलाइ भएको बताउँछन् । उनी भन्छन्, “झापामा एक हजार जना अटाउने गरी बहुउपयोगी होल्डिङ सेन्टर निर्माणको काम ५० प्रतिशत सकिएको छ, काम तीब्र गतिमा भइरहेको छ ।”

झापास्थित सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पाण्डे काँकरभिट्टा नाका मात्र होइन, खुल्ला सीमाका कारण जिल्लाका हरेक सीमावर्ती क्षेत्रबाट संक्रमण भित्रिने जोखिम रहेको बताउँछन् । “खुला सीमाबाट आउजाउ गर्नेको तथ्यांक राख्दै कठिन छ” उनी भन्छन्, “यसमा स्थानीय तह र सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्