म्याद थप हुँदा पनि सम्पन्न भएन होल्डिङ सेन्टर


Bazar Dainik
12 January, 2022 6:25 pm

बिर्तामोड, पुस २८ । भारतमा कोरोना संक्रमण बढेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्नेको लाम लाग्न थालेको छ । सात दिनको तथ्यांक हेर्ने हो भने पूर्वी नाकाबाट करिब १७ हजार जना नागरिक स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका मध्येबाट ५२० जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पेजेटिभ देखा परेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यसरी पोजेटिभ देखिनेहरु सिधैँ होमआइसोलेसनमा बस्दै आएका छन् ।

सरकारले भारतबाट आउने संक्रमितहरुका लागि भनेर गत असार तेस्रो साता होल्डिङ सेन्टर निर्माणको प्रक्रिया अघि बढाएको छ । देशभर एकै प्रकृतिका होल्डिङ सेन्टर बनाउन सरकारले सेनालाई जिम्मा दिएको हो । हनुमान कन्ट्रक्सन ललितपुरले होल्डिङ सेन्टर निर्माण ठेक्का पाएको छ ।

सोही अनुरुप झापाको मेचीनगरस्थित दुवागढीमा सेनाले होल्डिङ सेन्टर बनाइरहेको छ । उक्त सेन्टर भदौ ३ गतेभित्र सम्पन्न गर्नु पर्ने थियो । तर, निर्धारित समयमा निर्माण नसकिएपछि म्याद थप गरी पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तर, पुसमा पनि निर्माण सम्पन्न नहुने नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाले बजार दैनिकलाई बताए । “हामी निर्माणको अन्तिम चरणमा छौँ” उनले भने, “पुसभित्र भने निर्माण सम्पन्न हुने अवस्था छैन । अझ केही दिन समय लाग्ने देखिन्छ ।”

चार विगाह क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टर एक हजार जना क्षमताको हो । होल्डिङ सेन्टरमा २२ वटा छुट्टाछुट्टै पक्की भवन निर्माण गरिएको छ । जसमा १४ वटामा क्वारेन्टिन रहने छ । दुई वटा चिकित्सक र स्वाथ्यकर्मीले आवासको रुपमा प्रयोग गर्नेछन् । त्यस्तै १५ वटा किचन निर्माणको चरणमा छन् ।

“दुईवटा भवन निर्माण सम्पन्न भएपनि सरकारले प्रयोगको नीति नबनाउँदा तत्काल प्रयोगमा ल्याउन सकेका छैनौँ” प्रमुख सेनानी थापाले भने, “सीसीएमसीले प्रयोग सम्बन्धि कुनै अवधारण बनाएको छैन । हामीलाई निर्माणको जिम्मा मात्र दिएको हो ।”

तस्बिरहरु : मनिषा चम्लागाईँ / बजार दैनिक ।

प्रतिक्रिया दिनुहोस्