गठबन्धन बलियो भएकाले हाम्रो जित निश्चित छ


Bazar Dainik
9 January, 2022 5:48 pm

झापा, पुस २५ । आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको लागि चुनाव हुँदैछ । सत्तारुढ गठबन्धन र एमालेले आफ्ना उम्मेदवार तोकिसकेका छन् । अघिल्लो चुनावमा करिब करिब सबै आफ्ना उम्मेदवार जिताएको नेकपा (एमाले)ले यसपटक एउटै पनि उम्मेदवार जिताउन नसक्ने देखिन्छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक दलले सबै सिट गुमाउने बताइसकेका छन् । यसै सन्दर्भमा राष्ट्रियसभा सदस्यका प्रत्याशी उम्मेदवार गोपालकुमार बस्नेतसँग गरिएको कुराकानी :

गोपालकुमार बस्नेत
राष्ट्रियसभा सदस्यका प्रत्याशी, नेपाली कांग्रेस
गठ
बन्धनका तर्फबाट राष्ट्रियसभाको उम्मेदवार बनेको छु । नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनमा मैले निकै दुःख गरेको छु । यसैलाई आधार मानेर सायद पार्टीले मलाई उम्मेदवार बनाएको हुनुपर्छ । पार्टीले सुम्पिएको जिम्मेवारीलाई म कुशलता र इमानदारीपूर्वक पूरा गर्नेछु । काम गर्दै जाँदा पार्टीले सम्झिँदो रहेछ भन्ने मैले महसुस गरेको छु । अब साथीहरूले मेरो उम्मेदवारीलाई माघ १२ गतेको निर्वाचनबाट अनुमोदन गर्नुहुन्छ भन्ने आशा छ । राजनीतिमार्फत देश र जनताको सेवा गर्ने उद्देश्यले म राजनीतिमा लागेको हुँ । राजनीतिमा जहिले पनि इमानदारिता, निष्ठासँगै जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने मेरो मान्यता छ । राष्ट्रियसभामा म निर्वाचित भएमा त्यसैलाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी बहन गर्नेछु । राष्ट्रियसभामा प्रदेश–१ भरिका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश सांसदहरूले मतदान गर्नुहुनेछ । सबै पालिका पुग्न असम्भव छ । सबैको मोबाइल नम्बर कलेक्सन गर्दैछु । उहाँहरूलाई मोबाइलमार्फत फोन गरेर मत माग्ने तयारी गरिरहेको छु । छोटो समय भएकाले हरेक पालिकामा पुग्न असम्भव छ । चुनाव भनेको एउटाले जित्छ, अर्कोले हार्छ । मलाई लाग्छ, गठबन्धन पनि बलियो भएकाले मैले चुनाव जित्छु । राष्ट्रियसभा भनेको अनुभवी, परिपक्व व्यक्तिहरू जाने ठाउँ हो । त्यहाँ गएर संविधानको परिधिभित्र रहेर हामीले काम गर्नुपर्ने हुन्छ । तल्लो सदनबाट पास आएका विधेयकलाई अध्ययन गरेर पास गर्नुपर्छ । मैले चुनाव जितेमा संविधानले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्न म कटिबद्ध हुनेछु ।

प्रतिक्रिया दिनुहोस्