ओमिक्रोनको असर सीमा क्षेत्रको बजार र पर्यटनमा
झापा, पुस २४ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको असर नेपालको सीमा क्षेत्रको बजार र होटल व्यवसायमा देखा पर्न थालिसकेको छ । भारतमा संक्रमण बढेसँगै नेपालको सीमा क्षेत्रको बजारमा असर देखा पर्न थालेको हो । काँकडभिट्टा, भैरहवा, नेपालगन्ज, विराटनगर र वीरगंजको बजारमा भारतीय पर्यटकको आवागमन प्रभावित भएको छ । होटलहरुमा ग्राहक घट्न थालेका छन् ।
कोरोना संक्रमणको दर फेरि बढ्न थालेसँगै पूर्वी सीमानाकामा चेकजाँचमा कडाइ सुरु भइसकेको छ । यसले गर्दा भारतबाट नेपाल घुम्न आउने घट्न थालेका छन् । सरकारले क्यासिनो सञ्चालन गर्न स्वीकृति दिएसँगै होटल अकुपेन्सीमा हुन थालेको क्रमिक सुधारमा १५ दिन यता घट्न थालेको मेचीनगरको पाँचतारे होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटाले बताए । “पहिले होटलको अकुपेन्सी पुरा हुँदै आएको थियो” सापकोटाले बजार दैनिकसँग भने, “अहिले नाकामा कडाई गरिएको छ । जसले ग्राहकसमेत घटाएको छ ।”

तीन महिनायता भारतीय पर्यटकको आवगमन सहज भएसँगै सीमा क्षेत्रका होटल–रेस्टुरेन्टको व्यापार राम्रो हुँदै आएको थियो । नेपालमा पनि कोरोना संक्रमितको नमुना परीक्षणमा ओमिक्रोन भेरियन्ट पुष्टि हुन सुरु भएसँगै व्यवसायीमा चिन्ता सुरु भएको सापकोटाको बताउँछन् । मेची क्राउनमा भारतीय पर्यटकको सहभागिता उल्लेख्य हुँदै आएको थियो ।
संक्रमणदर बढ्दै गएपछि नेपाली व्यवसायीमा मानसिक असर देखापर्न थालेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली बताउँछन् । “लामो समयसम्म कोरोना झेलेका हामी व्यवसायी पुनः संक्रमण बढ्ने त्रासमा छौँ” मैनाली भन्छन्, “यसरीले संक्रणा बढ्दै जाने हो भने एक हप्तामा व्यवसायमा गिरावट आउने देखिन्छ ।”

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले ठूलो नोक्सान खेपेको नेपाली पर्यटन क्षेत्रलाई तेस्रो लहरले पुनः फेरि एकपटक धक्का दिने पर्यटन व्यवसायी अर्जुन कार्की बताउँछन् । भारतमा ओमिक्रोनको संक्रमण बढ्दै गएपछि नेपाल आउने पर्यटकको चहलपहलमै गिरावट आउन थालिसकेको उनको भनाई छ ।
महाराष्ट्रमा मात्रै ४० हजार ९ सय २५ नयाँ बिरामी थपिएका छन् । नेपालसँग सीमा जोडिएको बंगालमा १८ हजार २ सय १३ नयाँ संक्रमित पाएका छन् । भारतमा बढ्दो संक्रमण दर देखिएको मामिलामा राजधानी दिल्ली तेस्रो नम्बरमा छ । दिल्लीमा कोरोनाका १७ हजार ३ सय ३५ जना नयाँ बिरामी पहिचान भएका छन् ।
भारतमा लगातार संक्रमण दर पुनः उकालो लाग्न थालेपछि आवागमनमा कडाइ सुरु भएको छ । यसको असर भारतको बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसँग जोडिएका नेपाली बजारमा पर्न सुरु भएको छ ।