केरा खेतीमा आत्मनिर्भर बन्दै झापा


Bazar Dainik
5 January, 2022 9:11 pm

झापा, पुस २२ । केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामा समेत निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ ।

जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइँदा केरा खेती बर्सेनि बढिरहेको छ । उनका अनुसार गत आर्थिक वर्ष ०७७–०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट्रिक टन केरा उत्पादन भएको उनले बताए । जुन आर्थिक वर्ष ०७६–०७७ को भन्दा धेरै हो ।

उक्त आर्थिक वर्षमा एक हजार सात सय ७२ हेक्टरमा केरा लगाइएको थियो । जहाँ ३६ हजार तीन सय २६ मेट्रिक टन केरा उत्पादन भएको थियो । यो तथ्यांक हेर्दा झापामा प्रत्येक वर्ष केरा खेती गर्ने क्षेत्र बढीरहेको छ । ‘केरामा झापा आत्मनिर्भर छ । झापाको उत्पादन यहाँका लागि पर्याप्त छ,’ उनले भने, ‘यहाँका उत्पादन मोरङ, सुनसरीसँगै काठमाडौं, पोखरासम्म पुग्छ ।’

झापा गाउँपालिकाका कृषकले लगाएको तरकारी खेती । तस्बिर : बजार दैनिक ।

सरकारले केरालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दा केरा खेती विस्तार भएको उनको भनाइ छ । चालु आर्थिक वर्षभित्र पनि एक सय हेक्टर क्षेत्रमा केरा खेती विस्तारको योजना रहेको सिंहले बताए ।

केराको बजार राम्रो भएका कारण पनि खेतीप्रति कृषकको आकर्षण बढेको उनले बताए । ‘केराको बजार राम्रो छ । यसमा कृषकलाई राम्रो आम्दानी हुन्छ । त्यसकारण पनि कृषक केरा खेतीप्रति आकर्षित छन्,’ प्रमुख सिंहले भने, ‘बगानबाटै ६० देखि ८० रुपैयाँ दर्जनमा केरा बिग्छ । केरा खेती गर्ने किसानलाई बजारको चिन्ता छैन ।’

प्रतिक्रिया दिनुहोस्