नेता थापाले गरे कांग्रेस प्रदेश सभापतिमा उम्मेदवारी घोषणा


Bazar Dainik
1 December, 2021 7:38 pm

झापा, मंसिर १५ । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा झापाका उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस झापाको दुई कार्यकाल सभापति बनेका थापा नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । सिटौलाले उनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अघि सारेका हुन् ।

पार्टीको संस्थापन पक्ष र सिटौला समूह मिलेर जाने तयारीमा लागेपछि प्रदेश १ मा सिटौला पक्षले सभापति दाबी गरेको छ । सटौला पक्षबाट झापाका थापा र संखुवासभाका तारामान गुरूङ प्रदेश सभापतिका दाबेदार छन् । थापाले भने बुधबार उम्मेदवारी घोषणा गरेका छन् । देउवा पक्षबाट अमृत अर्याल प्रदेश सभापतिको दौडमा छन् ।

बि.स.२०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईवाट राजनैतिक जीवन सुरु गरेका हुन् थापाले । २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्था विरुद्व बहुदलीय व्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा सक्रिय त्यसताका विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए ।

२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा लागेका थापा प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको सचिव\सभापतिको एक\एक कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन् । त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुई पटक संसदको टिकट पाए । हरेक चुनावमा नेपाली कांग्रेसको भारी मत बढाउन सफल रहेपनि जितको परिणाम भने हातपर्न सकेन ।

वाणिजय शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर र विवेकशिल नेताको छवि निर्माण गरेका छन् । प्रजातान्त्रिक आन्दोलन र संगठन विस्तारका क्रममा संघर्षको मैदानबाट खारिएर अब्वल विकास गरेका थापा राजनीतिलाई राष्ट्रिहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिक रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्