यात्रु र सुरक्षाकर्मीले धकेले जहाज !

झापा, मंसिर १५ । हामी जोकोहीले हलुका सवारी मानिसहरुले धकेलेको त देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए ।
तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो । जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो ।
विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए । त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए ।