प्रत्येक वर्ष मल अभावमा नेपाली कृषक


Bazar Dainik
1 December, 2021 5:37 pm

काठमाडौँ, मंसिर १५ । नेपाली किसानले हरेक वर्ष मल अभाव झेल्दै आएका छन् । बालिलाई मल आवश्यक पर्ने समयमा बजारमा मलको अभाव हुन्छ । बालीमा अति आवश्यक रसायनिक मल समयमै उपलब्ध हुन नसक्दा किसानहरूले विभिन्न समस्या भोग्दै आएका छन् ।
सरकारले हरेक वर्ष अनुदानमा कृषकलाई मल उपलब्ध गराउने भन्दै अर्बौ रुपैयाँ बजेट विनियोजन गर्दै आएका छन् ।

यस वर्ष पनि रसायनिक मल आपूर्तिका लागि सरकारले १५ अर्ब बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपनि सहज तरिकारले मल आपूर्ति नहुँदा किसानहरूले समस्या भोग्दै आएका छन् ।

सरकारले मल आपूर्तिका लागि अर्बौ रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, सरकारले प्रदान गरेको अनुदानको मल वास्तविक किसानले नपाएको राष्ट्रिय किसान समूहका सचिव रामहरी शर्माले बताए ।

उनकाअनुसार साल्ट ट्रेडिङ र नेपाल कृषि सामग्री कम्पनीले सहकारीलाई मल प्रदान गर्दै आएका छन् । उक्त सहकारीहरूले आफ्ना सदस्य र नजिकका व्यक्तिलाई मात्रै चर्को मूल्यमा बिक्री गर्दै आएका छन् । त्यसैले, सरकारले वर्गीकरणका आधारमा किसानलाई मल उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने बताए ।

अहिले नेपालको मुख्य समस्या भनेको समयमै मल उपलब्ध गराउन नसक्नु हो । मुख्य सिजनमै सरकारले मल उपलब्ध गराउन नसक्दा किसान हप्तौं लाइनमा बसेर चर्को मूल्यमा खरिद गर्नुपर्ने अवस्था छ । त्यसैले, सरकारले समयमै टेन्डर आह्वान गरी आयात गर्नुपर्ने उनको भनाइ छ ।

हरेक वर्ष सिजनमा मल उपलब्ध हुन नसक्दा किसानले चर्को मूल्य र पर्याप्त मात्रामा नपाउँदा समस्या भोगिरहेका छन् । यो वर्ष मात्रै नभएर विगत लामो सयमदेखि देख्दै आए पनि समाधान हुन सकेको छैन । यससम्बद्ध आबद्ध सरोकारवालाहरूले नेपालमा मल आयात गर्न निकै चुनौती र जोखिमपूर्ण काम रहेको बताउँछन् ।

बुधबार कृषि पत्रकार महासंघले नेपालले आयोजना गरेको रसायनिक मलको संकट र समाधान अन्तक्रिया कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवालाले मल आयातमा निकै समस्या रहेको बताए ।

मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत ढकालले नेपालमा मल आयात गर्न निकै चुनौती रहेको बताए । यसअघि समयमै मल ल्याउन नसेकेको भन्दै कालोसूचीमा परेको कृषि कम्पनीका अध्यक्ष ढकालले नेपालका आयातकर्ताले जबसम्म सरकारले सहज तरिकाले आयात गर्न सक्ने वातावरण सिर्जना गर्दैन तबसम्म ल्याउन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्