नर्सरी व्यवसायबाट वार्षिक ३५ लाख आम्दानी


Bazar Dainik
30 November, 2021 4:54 pm

व्यवसायमा व्यस्त गिरी । तस्बिर : मनिषा चम्लागाईँ ।

अर्जुनधारा मंसिर १४ । कोरोना महामारी सुरु भएसँगै फुर्सदिलो बनेका झापा अर्जुनधारा नगरपालिका –५ का अमिस गिरी यतिबेला सफल व्यवसायी बनेका छन् भन्दा फरक पर्दैन । बिर्तामोडमा कस्मेटिक पसल गर्दै आएका उनले कोरोना पछि व्यवसाय नै परिवर्तन गरे ।

गिरीका बाबुले हाँगा सारेर २० वर्ष अघिदेखि सुरु गरेको फूलखेतीलाई उनले विस्तार गरे । कोरोनाले कस्मेटिक पसलको व्यापार नभएपछि नर्सरी व्यवसायमा होमिएका हुन् गिरी । यतिबेला उनले भारतको विभिन्न स्थानबाट फूलका बिरुवा ल्याएर १२ कठ्ठा क्षेत्रफलमा गिरी नर्सरी तथा कृषि फर्म सञ्चालनमा ल्याएका छन् ।

व्यवासयमा ३० लाख रुपैयाँ लगानी गरेका गिरीले फूल तथा कृषि उत्पादनका बिरुवा लगाएका छन् । गत वर्षको आम्दानी मात्र ३५ लाख रुपैयाँ भएको उनले सुनाए । व्यवसायमा गिरीलाई परिवारकोसमेत साथ रहेको छ । फर्ममा ७ जनालाई रोजगारी दिन उनी सफल बनेका छन् । फर्ममा उत्पादित विरुवा मूलुकको विभिन्न स्थानमा बिक्री हुँदै आएको उनले सुनाए ।

फूल खेतीमा राम्रो भविष्य देख्ने गिरी नेपालको हावापानी र भूगोल फूल खेतीका लागि उपयुक्त रहेकाले प्रशस्त उत्पादन गरी विदेशसमेत निर्यात गर्न सकिने सम्भावना देख्छन् । फर्ममा फूल र कृषि उत्पादन गरेर ६ सय जातका फूलका विरुवा रहेको उनले बताए ।

पैसा कमाउनकै लागि विदेश जाने युवाले नेपालमै फूल खेती गर्ने हो भने थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ । “फूल खेती थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने व्यवसाय हो” उनले भने, “तर सरकारले विदेश निर्यातका लागि सहजीकरण गरिदिनुपर्छ ।”

“स्थानीय र प्रदेश सरकारले फूल खेती गर्ने किसानलाई प्रोत्साहन दिने र बजार सुनिश्चित गरिदिने हो भने फूलबाट मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ,” गिरी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्