प्रत्येक महिना बढ्दै वैदेशिक रोजगारीमा जानेको संख्या


Bazar Dainik
23 November, 2021 9:32 pm

काठमाडौँ, मंसिर ८ । कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि गत जेठयता विदेश जानेको संख्या पनि बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङ महामारीका कारण आउन छाडेको श्रमिकको माग एक्कासी आउँदा वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग आएको बताउँछन् । विदेशमा खोप अभियानपछि व्यवसायिक तथा औद्योगिक क्षेत्र चलायमान भएकाले श्रमिकको माग बढेको उनको भनाइ छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिएकाहरु थिए ।

तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए ।
असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए ।

गत साउनदेखि कात्तिकसम्म १ लाख ५६ हजार ५७ जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् । साउनदेखि कात्तिक महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९६ हजार ३३४ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ७२३ पुगेको छ ।

विभागका अनुसार साउनमा २५ हजार ४२८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये म्यानपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो ।

भदौमा २४ हजार ६९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेशिएको विभागको तथ्यांकमा देखिन्छ ।

असोजमा ३९ हजार ६७१ जना नेपाली विदेश उड्दा २७ हजार ८२४ जना नयाँ श्रम स्वीकृति लिनेहरु छन् ।
कात्तिक महिनामा विदेशिने नेपालीको संख्या दैनिक १५ सय भन्दामाथि पुगेको छ ।

कात्तिक महिनामा ५४ हजार ९१८ जाने विदेश जान श्रम स्वीकृति पाएका छन् । त्यसमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका हुन् भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएका छन् । कात्तिकमा मात्रै दैनिक औसत १ हजार ८३० जना श्रमिक विदेशिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्