दुधको मूल्य प्रतिलिटर ६ रुपैयाँसम्म बढाउने तयारी


Bazar Dainik
22 November, 2021 6:15 pm

झापा, मंसिर ७ । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । दुग्ध क्षेत्रमा आबद्ध संघसंस्थाले दूधको मूल्य बढाउनका लागि प्रस्ताव गरेसँगै सरकारले दुधको मूल्य बढाउने तयारी गरेको हो ।

डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र दूग्ध विकास संस्थानले दुधको मूल्य बढाउनुपर्ने माग गर्दै आएका थिए ।

सोहीअनुसार उक्त संघसंस्थाले राष्ट्रिय दुग्ध विकास बोर्डमा मूल्य बढाउनुपर्नेमा प्रस्ताव गरेसँगै दूग्ध विकास बोर्डले मूल्य बढाउने तयारी गरेको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजेश प्रसाद यादवले मूल्य बढाउनेबारे सम्पूर्ण सरोकारवालासँग एक पटक छलफल गरेको बताए ।
उनकाअनुसार दुग्ध क्षेत्रमा आबद्ध सम्पूर्ण संघसंस्थाले मूल्य बढाउनका लागि प्रस्ताव पेश गरेका छन् । सोहीअनुसार बोर्डले विभिन्न चरणमा छलफल गर्ने भएको छ ।

बोर्डले अबको केही दिनमा मन्त्री महिन्द्रराय यादव र सचिवलाई प्रस्ताव पेश गरी छलफल गर्ने योजना बनाएको छ । नेपाल डेरी एसोसिएनका महासचिव प्रल्हाद दाहालले दुधको मूल्य बढाउनका लागि सम्बन्धित संघसंस्थाले मूल्य बढाउनेबारे प्रस्ताव गरेको बताए । उनकाअनुसार विभिन्न संघसंस्थाले प्रतिलिटर ६ रुपैयाँदेखि १० रुपैयाँसम्म मूल्य बढाउनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्