सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य गरिने


Bazar Dainik
21 November, 2021 10:50 am

झापा, मंसिर ५ । नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ । नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो ।

सो विषय अध्ययनका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले स्थलगत निरीक्षणसमेत सकेको छ । टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभागका प्रवक्ता समेत रहेका उप–महानिर्देशक कृष्णप्रसाद नेपाल लगायतको उपस्थिति थियो ।

उच्चपदस्थ टोलीमा सहभागी नेपालले भने, ‘अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाई गर्नुपर्ने, उनीहरुले गरेको कामलाई फिल्ड भेरिफिकेसन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो । बाँकी अन्य मर्मत लगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ ।’

भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल. दासले गरेका थिए । उनले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताए । दासले थप एजेण्डाका विषयमा भने उच्चस्तरीय कमिटीको बैठकमा कुरा उठाउने जानकारी दिए ।

टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्