३ महिनादेखि मेची भन्सारमा रोकिएको १ हजार मेट्रिक टन सुपारी छुट्यो


Bazar Dainik
19 November, 2021 6:22 pm

झापा, मंसिर ३ । विगत ३ महिना महिनादेखि मेची भन्सार कार्यालय काँकडभिट्टामा रोकिएको १ हजार मेट्रिक टन सुपारी उच्च अदालत विराटनगरको इलाम इजलासले दिएको अन्तरिम आदेशपछि शुक्रबार छुटेको छ ।

सीएच ट्रेड प्रालि बिर्तामोडसहित विभिन्न पाँच वटा फर्मले इन्डोनेसियाबाट आयात गरेको सुपारी जाँचपास भई छुटेको मेची भन्सार कार्यालयले जनाएको छ । अर्थमन्त्री र भन्सार विभागका महानिर्देशकको आदेशमा काँकडभिट्टा भन्सारमा सुपारी रोकिएको थियो ।

न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजलासले मेची भन्सार कार्यालय काँकडभिट्टाका नाममा जारी गरेको अन्तरिम आदेशमा ‘तोकिएबमोजिमको भन्सार तथा अन्तःशुल्क लिई कानुनबमोजिम जाँचपास गराई सुपारी आयातमा कुनै अवरोध नगर्नू, नगराउनू र स्वीकृत कोटा कानुनबमोजिम आयातका लागि आवश्यक व्यवस्था मिलाइदिनू’ भनिएको छ ।

आदेशमा भनिएको छ, ‘कानुनसम्मत स्वीकृति लिई आयात प्रक्रिया अगाडि बढाइएको सुपारी भन्सारमा प्राप्त हुनासाथ कानुनबमोजिम लाग्ने भन्सार दस्तुरसमेत लिई यथाशीघ्र जाँचपास गरिदिनुपर्ने दायित्व विपक्षी भन्सार कार्यालयको देखिन्छ ।’

उच्च अदालतमा अन्तरिम आदेशका लागि निवेदन दिनेमा झापा विर्तामोडको सीएच ट्रेड प्रालिसहित ५ वटा आयातकर्ता फर्म छन् । जसमा बिर्तामोडका पाण्डे एन्ड शर्मा ब्रदर्स प्रालि, पान्वी ट्रेडर्स, शिव बजरंग भण्डार र ग्लोबल इन्टरप्राइजेज काठमाडौंसमेत छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत ओली र तत्कालीन वाणिज्य मन्त्री लेखराज भट्टसमेतका मिलेमतोमा २५ हजार टन सुपारीको आयातको कोटा गोप्य रूपमा वितरण गरिएको थियो । त्यही कोटामध्येको सुपारी एक हजार टन काँकडभिट्टा भन्सारमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्