बचत तथा ऋण सँगै उद्यम, स्वास्थ्य र शिक्षामा अग्रणी सहारा


Bazar Dainik
13 November, 2021 7:21 pm

कार्यक्रमको उद्घाटन गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ । तस्बिर : मनिषा चम्लागाईँ ।

झापा, कात्तिक २७ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । नेपालकै सबैभन्दा धेरै सेयर सदस्य रहेको सहाराले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

संस्थाको आज (शनिबार) चारपानेमा गरेको २५ औँ वार्षिक साधारणसभामामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आगामी १० वर्षभित्र संस्थाको वासलात एक खर्ब रुपैयाँको पु¥याउने लक्ष्य रहेको बताएका छन् । हाल संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ रुपैयाँ रहेको छ ।

सहारा पूर्वी नेपालका ६ जिल्लामा पूर्णरुपमा र पाँच जिल्लामा दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र विस्तार गरिसकेको छ । प्रतिवेदनअनुसार संस्थाले रणनीतिक योजनाअनुसार कार्यक्षेत्र विस्तार गरी प्रदेश १ भरि १ सय ३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य राखेको गिरीले बताए ।

संस्थाले एकीकरण प्रयासअन्तर्गत सहाराको कार्य क्षेत्रभित्रका एक सयवटा राम्रा सहकारी संस्थाहरुसँग मर्ज गर्ने रणनीतिक योजना अघि सारेको छ । त्यस्तै, बचतमा बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंकसरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्युआर कोड, इटेलर, एटिएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

गत असार मसान्तसम्म एक लाख ५० हजार ३५४ शेयर सदस्य रहेको सहाराले यो आर्थिक वर्षमा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाउने प्रक्षेपण गरेको छ ।

उद्यम क्षेत्रमा सहारा
सहाराले म पनि उद्यमी कार्यक्रम, पशुलाई सुत्केरी भत्ता, मौरी उद्योग सञ्चालन कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ । एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहाराले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञानमा सहयोग गर्नेछ ।

सहाराले व्यवसायीक रुपमा कृषि ऋण लिइ गाई, भैंसी पालन गरेको र त्यसबाट बाछाबाछी, पाडापाडी जन्मेको अवस्थामा पशुलाई सुत्केरी भक्ता वापत एक हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, सतासी मौरी पालन महिला कृषि सहकारी संस्था र होक्से कृषि सहकारी संस्थासँगको साझेदारीमा सञ्चालन गर्दै आएको मह उद्योगलाई अझ प्रभावकारी रुपमा अघि बढाउने जनाएको छ ।

संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

शिक्षा र स्वास्थ्यमा सहारा
९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको छ । सोअन्तर्गत यो वर्ष दुईजनाबाट सुरु गरिनेछ ।

यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सधैँका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने गिरीद्वारा प्रस्तुत हुने प्रतिवेदनमा छ ।

संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

३७ करोड ५७ लाख रुपैयाँको अन्य कोष रहेको सहारा नेपालले संस्थाका दुई सय अति विपन्न सदस्यलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल सहाराको २५ औँ साधारणसभाको उद्घाटन प्रमुख अतिथि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, विशेष अतिथि राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मीनराज कँडेललगायतले गरेका थिए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष पवित्रा सुब्बाले शब्दद्वारा र इस्ट होराइजन मावि धुलाबारीका विद्यार्थीले नृत्यद्वारा स्वागत गरेका थिए । संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भइरहेको साधारणसभाको कार्यक्रम सञ्चालन सञ्चारकर्मी केशव भट्टराई गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्