प्रदेश–१मा वृद्धि हुन सकेन पर्यटक आगमन


Bazar Dainik
7 November, 2021 5:19 pm

झापा, कात्तिक २१ । कोरोना महामारी केही नियन्त्रण भएपनि प्रदेश –१मा पर्यटक आगमनमा वृद्धि हुन सकेको छैन । कोरोना संक्रमणले बाहिरी गतिवधि कम हुँदै जाँदा पर्यटक आगमन ६० प्रतिशतले घटेको हो ।

सरकारी तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उक्त प्रदेशमा पर्यटक आगमन ५९.७ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा पनि पर्यटकको संख्या १८.१ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकको प्रदेश–१ को अध्ययन प्रतिवेदनअनुसार गत आवको सोही अवधिमा तेस्रो मुलुकवाट आउने पर्यटकको संख्या ९२.४ प्रतिशतले घटेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्यामा १८.६ प्रतिशतले घटेको थियो ।

कोभिड–१९ को महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्र प्रदेश नं.– १ मा बन्दाबन्दी तथा निशेधाज्ञा खुकुलो भएसँगै केही सुधारोन्मुख अवस्थामा रहेको देखिन्छ । महामारीको अवधिमा पर्यटकीय होटल व्यवसायको विस्तार शून्य रहेको देखिएको छ भने निर्माण सम्पन्न भएका पर्यटकीय होटलसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

यो अवधिमा प्रदेश –१मा होटलहरुको औसत अकुपेन्सी दर २२.३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अकुपेन्सी दर ३३.९ प्रतिशतले घटेको थियो । उक्त प्रदेशको कुल पर्यटक आगमन भने १०.७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६७.७ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा चीनबाट आउने पर्यटकको संख्या सवैभन्दा बढी घटेको छ । भारतबाट आउने पर्यटकको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १४.४ प्रतिशतले बढेको छ । यो अवधिमा पर्यटकीय होटलमा आन्तरिक पर्यटकको संख्या १२.७ प्रतिशतले घटेको छ । विराटनगर तथा काँकडभिट्टा नाकामा आवागमन केही खुकुलो भएसँगै भारतीय पर्यटकको संख्यामा वृद्धि भएको देखिन्छ ।

प्रदेश १ मा पर्यटकको लागि धेरै सम्भावना भएको प्रदेश हो । यो प्रदेशमा विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको छ । त्यतिमात्रै नभएर कञ्चनजङगा, मकालुलगायतका कैयान हिमालहरु रहेका छन् । यही प्रदेशमा सगरमाथा राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र, कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज रहेका छन् । त्यस्तै, पाथिभरा देवी, हलेसी महादेव मन्दिर, वराहक्षेत्र, तेह्रथुममा रहेको गुराँस, इलामको माइपोखरी, ह्यात्रुङ झरना, संखुवासभाको सभापोखरी र गुफापोखरी, साल्पापोखरी पर्यटकीय क्षेत्र हुन्  ।

प्रतिक्रिया दिनुहोस्