सहकारी क्षेत्रमा शिखरले पहिलो पटक ल्यायो लकर सेवा


Bazar Dainik
3 November, 2021 7:28 pm

बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले नेपालमा नै पहिलो पटक सहकारीमा लकर सुविधा ल्याएको छ । आफ्नै भवन उद्घाटनको पूर्वसन्ध्यामा संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यको मागलाई ध्यानमा राखेर लकर सुविधा ल्याएको सहकारीले जनाएको छ ।

लकर सेवा सञ्चालनका लागि सुरक्षित भवन र चौविसै घण्टा कडा सूरक्षाको व्यवस्था गरिएको सहकारीका अध्यक्ष दिपेन्द्र राउतले बताए । “पहिलो वर्ष वार्षिक ३ हजार धौरटी वापत सेवा प्रदान गर्दै छौँ” राउतले भने, “तत्पश्चात तोकिए अनुसारको वार्षिक शुल्क लाग्नेगरी लकर सेवा प्रदान गर्ने छौँ ।”

शिखर कात्तिक १८ गतेदेखि आफ्नै भवनमा सर्ने भएको छ । बिर्तामोडस्थित भद्रपुर रोडमा दुई करोड १८ लाख ४० हजारमा शिखरले जग्गासहित भवन खरिद गरेको छ ।

०६७ सालमा स्थापना भएको सहकारीमा ७ हजार ८ सय ४० जना सदस्य रहेका छन् । ४४ जना शेयर सदस्यले ४४ हजार शेयर पुँजीबाट शुरु गरिएको शिखरले ६२ करोड ६३ लाख ४० हजार ऋण लगानी गरेको संस्थाका अध्यक्ष राउतले जानकारी दिए । उनका अुसार ५ करोड १८ लाख ३५ हजार शेयर पुँजी पुगेको छ ।

‘प्रविधिमा हामी एक कदम अघि’ भन्ने नारासहित संस्थाले प्रविधिमा समयसापेक्ष अपडेट गर्दै आएको अध्यक्ष राउत बताउँछन् । उनले सदस्यहरुको बचत तथा अन्य कारोवारको सुरक्षामा संस्थाले पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् । संस्थाले रेमिट्यान्स, मोवाइल बैंकिङको सेवालाई थप प्रभावकारी बनाएको राउतको भनाई छ । संस्थाले मोवाइल बैकिङ्मा प्रोत्साहन गर्न लक्ष्मीपुजाको दिनदेखि केही समयसम्म बैंक ट्रान्सफरमा लाग्ने शुल्क फ्रि गर्ने जनाएको छ ।

शिखरले मंसिर २ गतेदेखि ६ गतेसम्म ११ औं वार्षिक साधारणसभाको आयोजना गरेको सचिव हिमालय प्रसाईले जानकारी दिए । साधारणसभाले थप योजना तथा कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।

४ करोडभन्दा बढि जगेडा कोष रहेको शिखरले नगरको उत्कृष्ट सहकारी बनाउने अभियानमा जुटेको बताइएको छ । संस्थाले कोरोना महामारीको समयमा सदस्यहरुलाई १३ लाख ६७ हजार ४३३ रुपैयाँ व्याज रकम छुट गरेको सचिव प्रसाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्