प्रेमीसँग विवाह गर्न माकोले त्यागिन् राजकुमारीको पदवी


Bazar Dainik
26 October, 2021 9:06 am

टोकियो कात्तिक ९ । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । क्योदो न्युज एजेन्सीका अनुसार उनीहरूले मंगलबार (आज) विवाह दर्ता गरेका छन् ।

माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन् । विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो ।

धुमधामसँग विवाह नगरेको यो जोडीले आजै दिउँसो पत्रकार सम्मेलन गर्न लागेको छ । कोमुरोसँग विवाहसँगै माकोले ‘राजकुमारी’ को उपाधि त्यागेकी छन् ।

राजपरिवारको सहमतिपश्चात राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह भएको हो । सिएनएनका अनुसार कोमुरो अमेरिका, न्युयोर्कमा वकिल छन् । माको र उनी बिहेपछि अमेरिका नै सर्ने कुरा छ ।

राजकुमारी माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो सन्तान हुन् । विद्यावारिधि गरिरहेकी उनी संग्रहालय अनुसन्धानकर्ताको रूपमा काम पनि गर्दैछिन् ।

जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र पुरुषलाई भेदभावपूर्ण नियम छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषले पर्दैन । यसै कानुनमा रहेर माकोले आफ्नो उपाधि त्याग्दै कोमुरोसँग विवाह घोषणा गरेकी हुन् ।

माको र कोमुरो दुबै ३० वर्षका भए । उनीहरूको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो । कोमुरोसँग पहिलो भेटमै आकर्षित भएको भन्दै माकोले विवाहको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘उनी सूर्यजस्तै मुस्काउँछन्, चम्किला ।

मलाई सानैदेखि थाहा थियो, मैले गैर राजकीय व्यक्तिसँग विहे गरेँ भने उपाधि गुमाउँछु । यी सबै छाडेर म विवाह गर्दैछु ।’ कोमुरोले पनि राजकुमारी माकोलाई हेर्दै भनेका थिए, ‘उनलाई म चन्द्रमा जस्तो हेरिरहन्थेँ, हेरिरहन्छु ।’

प्रतिक्रिया दिनुहोस्